काठमाडौं महानगरपालिकाले कर तिर्नका लागि काठमाडौं फनपार्कलाई दिएको समय आज सकिँदै छ । महानगरपालिकाको तर्फबाट बुधबार राजस्व विभाग प्रमुख शिवराज अधिकारीले २४ घण्टाभित्र सम्पूर्ण कर बक्यौता र जरिवाना तिर्न काठमाडौं फन पार्कलाई पत्र पठाएका थिए ।
काठमाडौं फनपार्कले वर्षौदेखि व्यवसाय कर, बहाल कर, विज्ञापन कर तथा मनोरञ्जन कर नबुझाई व्यवसाय सञ्चालन गरेको भन्दै महानगरले पत्र पठाएको थियो । पत्रमा भनिएको छ, ‘पटक पटक ताकेता गर्दा पनि कर नबुझाइएकाले २४ घण्टाभित्र व्यवसाय कर र बहाल कर सम्बन्धित वडा कार्यालयमा र विज्ञापन र मनोरञ्जन कर महानगरपालिकाको राजस्व विभागमा बुझाउन अनुरोध छ ।’
तोकिएको समयभित्र सम्पूर्ण कर नबुझाएमा फनपार्क सिलबन्दी गरी तिर्नुपर्ने राजस्व सरकारी बाँकी सरह असुलउपर गरिने महानगरले चेतावनी दिएको छ ।पछिल्लो समय काठमाडौं महानगले काठमाडौं उपत्यकामा अनुमति बेगर बनेका संरचना हटाउने, ट्राफिक व्यवस्थापन लगायतका काममा सक्रियता देखाएको छ ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।