काठमाडौं महानगरले ७ करोडमा इन्डोनेसियाबाट ल्यायो दमकल

काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र शाह (बालेन) ले आगलागीजन्य विपदलाई तत्काल सम्बोधन गर्न दमकल सेवालाई विस्तार गरिने बताएका छन् । 

राष्ट्रिय सभागृहमा विपद् व्यवस्थापन विभागलाई नयाँ दमकलको साँचो हस्तान्तरण गर्दै प्रमुख शाहले यस्तो बताएका हुन् । 

महानगरका पूर्वप्रमुख विद्यासुन्दर शाक्यप्रति आभार व्यक्त गर्दै उनले नयाँ दमकल थपिएपछि आगलागीबाट भौतिक तथा मानवीय क्षति कम गराउन मद्दत पुग्ने बताए । 

दमकलको प्रभावकारी सञ्चालनबाट छिमेकी पालिकामासमेत लाभ पुग्नेछ । त्यस अवसरमा उपप्रमुख सुनिता डंगोलको भनाइ थियो । 

दमकल खरिदका लागि २०७७ फागुनमा बोलपत्र आह्वान गरिएको थियो । त्यसमा इन्डोनेसियामा काम गरिरहेको जर्मन कम्पनी जिग्लर इन्डोनेसिया छनोट भएको थियो । कम्पनीले करबाहेक ७ करोड २१ लाख रुपैयाँ मूल्यमा इन्डोनेसियाबाटै सामान पठाएको हो । 

नयाँ दमकलको इञ्जिन क्षमता २७० एचपी हो । दमकलमा प्रतिमिनेट ३ हजार लिटर पानी तान्न र फाल्न सक्ने क्षमता छ । 



यस्तै, ६० मिटर टाढासम्म पानीको फोहोरा हान्न सक्छन् । एकैपटक चारवटा डिस्चार्ज लाइनबाट प्रेसरका साथ पानी फाल्न र दुईवटा सक्सन लाइनबाट पानी तान्न सक्छन् । 

तीन हजार लिटर पानी र पाँच सय लिटर फोमको ट्याङ्क रहेको दमकलले पानीमा फोम आफैँ मिसाउन सक्छ । पानी फाल्ने मोनिटर ३६० डिग्रीमा वरिपरि घुमेर र ८० डिग्री सिधा माथि पानी फाल्न सक्छ । आठ हजार किलोग्रामभन्दा धेरै तौल भएका यी दमकलहरू एन्टिलक ब्रेक सिस्टक (एबीयस) हुन् । 



तीन वर्ष वारेन्टी भएका दमकलमा एवीसी टाइपका फायर इस्टिङग्विसर, चारवटा ब्रिदिङ्ग एपारटर्स, पाँच मिटर लामा दुईवटा अल्मुनियमका भर्‍याङ, दुई हजार वाट क्षमताको एउटा जेनेरेटर, दुईवटा स्पट लाइट, नाइलनको डोरी, पाइप तथा नोजललगायत सामग्री तथा उपकरण छन् । 

आठ मिटर लम्बाई र २.५ मिटर चौडाइ भएका दमकलले घरमा लागेको, पेट्रालियम पदार्थ लागेको र ग्याँसमा लागेको आगो निभाउन सक्छन् ।

घना बस्ती भएकाले काठमाडौं आगलागी जस्ता विपदका कोणबाट जोखिममा छ । आगलागीका समयमा क्षति कम गराउन काम गर्नुपर्ने पक्षसँगै अग्नि दुर्घटना हुनै नदिनु सबैभन्दा उत्तम विकल्प हो । 

विपद व्यवस्थापन विभागका प्रमुख रविनमान श्रेष्ठ भने, ‘विभागले सचेतनाका कार्यक्रममार्फत घटना हुनै नदिनेतर्फ ध्यान दिएको छ ।'

नयाँबाहेक महानगरसँग अहिले पूर्ण क्षमतामा काम गर्न सक्ने दुईवटा र सहयोगका लागि प्रयोगमा ल्याउन सकिने तीनवटा गरी पाँचवटा दमकल सञ्चालनमा छन् । 

जुद्धबारुण यन्त्र कार्यालय काठमाडौंका प्रमुख चन्दन श्रेष्ठका अनुसार नयाँ सडक बारुणयन्त्र कार्यालयमा एउटा पूर्ण क्षमताको र दुईवटा सहयोगका लागि प्रयोग गर्न सकिने दमकल छन् ।

त्यस्तै, रामहिटीमा एउटा पूर्ण क्षमताको र एउटा सहयोगका लागि प्रयोग गर्न सकिने दमकल छन् । 

त्यस्तै, ३० मिटरको लामो एउटा र २५ मिटर लामो एउटा गरी दुईवटा ल्याडर छन् । रेस्क्युका लागि एउटा ट्रक र एउटा जीप छन् । 

जनशक्ति ओसारपसार गर्न एउटा भ्यान र एउटा जीप छन् । यसैगरी, पाँचवटा फायर मोटरसाइकल सञ्चालनमा छन् । 

दकमलमा पानी थप्न एउटा पानी ट्याङ्कर छ । यस्तै, पानी तानेर फाल्नका लागि पाँचवटा पम्प छन् ।

  • प्रकाशित मिति : भदौ १६, २०७९ बिहीबार १६:१३:४३

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया