कैलालीमा लेखराजलाई भारी पर्न सक्छन् नैनसिंह, यस्तो छ चुनावी अंकगणित

नेपाली कांग्रेस कैलाली क्षेत्रीय समिति ४ ले कांग्रेसका केन्द्रीय सदस्य एवं युवा नेता नैनसिंह महरलाई ४ मंसिरमा हुने प्रतिनिधिसभा निर्वाचनका लागि उम्मेदवार सिफारिस गरेको छ । 

पाँचवटा निर्वाचन क्षेत्र रहेको कैलालीमा कांग्रेस प्रतिनिधिसभा क्षेत्रीय समिति क्षेत्र नम्बर ४ को बैठकले महरसहित सुनीलकुमार भण्डारी, प्रकाश बम, भोजराज भट्ट, प्रदीपराज जोशी, डा. लक्ष्मीराज पाठकलाई सिफारिस गरेको हो ।

यो क्षेत्रबाट कांग्रेसले प्रतिनिधिसभाका लागि सात जनाको नाम सिफारिस गरे पनि महरले टिकट पाउने चर्चा छ ।

कांग्रेसका सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवा पत्नि आरजु राणानिकट पात्रको रूपमा महरलाई कांग्रेसवृत्तमा हेरिन्छ । 

नेता महर डडेलधुराको भागेश्वर गाउँपालिका-३ का स्थायी बासिन्दा हुन् । जुन डडेलधुराको निर्वाचन क्षेत्र नम्बर १ अन्तर्गत पर्दछ । 

प्रधानमन्त्री देउवाको निर्वाचन क्षेत्र पनि डडेलधुरा १ नै भएकोले महरलाई कैलालीको निर्वाचन क्षेत्र नम्बर ४ मा चाँजोपाँजो मिलाएको बताइन्छ । 



उसो त आरजु स्वयं पनि कैलाली क्षेत्र नम्बर ५ बाट उम्मेदवार सिफारिस भएकी छन् । 

कैलालीमा कांग्रेस गठबन्धनसहित चुनावमा जाँदा कम्तिमा दुई क्षेत्र नेपाली कांग्रेसले दाबी गर्ने पक्का छ । जसमध्ये कैलाली क्षेत्र नम्बर ४ र ५ कांग्रेसको प्राथमिकतामा छ । 



यो क्षेत्र पूर्वमाओवादीका सुदूरपश्चिम इन्चार्ज तथा हाल नेकपा एमाले केन्द्रीय कमिटी सचिव लेखराज भट्टले निरन्तर चुनाव जितेको क्षेत्र हो । 

यसै क्षेत्रबाट भट्टले ०६४, ०७४ मा प्रत्यक्षतर्फ चुनाव जितेका थिए । ०७४ को निर्वाचनमा भट्टले कांग्रेस उम्मेदवार सुनिल भण्डारीलाई १० हजार ३ सय ९९ मत अन्तरले हराएका थिए । 

भट्टले ३१ हजार ३५९ मत पाए भने प्रतिद्वन्द्वी भण्डारीले २० हजार ९६० मत ल्याएका थिए । ०७० सालमा भने कांग्रेस नेता दीर्घराज भाट विजय भएका थिए ।

पूर्वमन्त्रीसमेत रहेका भट्टलाई विजय गराउन सुदूरपश्चिमका १६ प्रत्यक्ष निर्वाचन क्षेत्रमध्ये एमाले अध्यक्ष केपी शर्मा ओलीले यस क्षेत्रलाई आफ्नो प्रतिष्ठाको रूपमा लिएका छन् । 

तर, कांग्रेस अन्य दलसँग गठबन्धन गरेर गए भट्टलाई यो चुनाव फलामको चिउरा चपाउनु जत्तिकै हुने कतिपयको विश्लेषण छ ।

कैलाली निर्वाचन क्षेत्र नम्बर ४ मा गौरीगंगा गाउँपालिका, गोदावरी नगरपालिका, चुरे गाउँपालिका गाउँपालिका र मोहन्याल गाउँपालिकाको वडा नं ५ पर्दछन् । 

चार स्थानीय तहमध्ये तीनवटाको प्रमुख र उपप्रमखमा गठबन्धनका उम्मेदावर विजयी भएका छन् । एमालेले चुरे गाउँपालिका अध्यक्ष र गोदावरी नरपालिका उपाध्यक्षमा जितेको छ । 

स्थानीय तहको निर्वाचनमा भट्टकै बसोबास रहेको गोदावरी नगरपालिका प्रमुखमा कांग्रेसका वीरेन्द्र भट्ट निर्वाचित भएका थिए । 

एमालेका उम्मेदवार गोकर्ण भट्टलाई ४ हजार २७७ को फराकिलो मत अन्तरले हराउँदै कांग्रेसका वीरेन्द्र भट्ट निर्वाचित भएका हुन् । 

एमालेका उम्मेदवार भट्ट लेखराज भट्टका भाइ हुन् । कांग्रेसका वीरेन्द्र भट्टले १५ हजार ५ सय १ मत पाए । एमालेका गोकर्ण भट्टले ११ हजार २ सय २४ मत मात्रै पाएका थिए । 

नगरमा कांग्रेसले ७ वडा जितेको छ भने एमालेले चारवटा वडामा सीमित भएको छ । एक वडा भने स्वतन्त्र उम्मेदवारले जितेका छन् ।

त्यस्तै, हालै सम्पन्न स्थानीय तह निर्वाचनअन्तर्गत गौरीगंगा नगरपालिका प्रमुखमा माओवादी केन्द्रका उम्मेदवार देवीदत्त कँडेल १३ हजार ७९५ मत ल्याई विजयी भएका छन् । 

उनले निकटतम प्रतिद्वन्द्वी एमाले उम्मेदवार पदमसिंह सिङाललाई ७ हजार १६३ मतान्तरले पराजित गरेका हुन् । पराजित सिङालले ६ हजार ६३२ मत ल्याए ।

यस्तै, उपप्रमुखमा कांग्रेसका उम्मेदवार भोजबहादुर बम ११ हजार २८१ मत सहित विजयी भएका छन् । उनका निकटतम प्रतिद्वन्द्वी एमालेकी उम्मेदवार शान्तिदेवी सिंहले ६ हजार ७४३ मत ल्याएकी छन् ।

गौरीगंगामा नेकपा एमालेले वडा ३ को वडाध्यक्ष मात्रै जितेको छ । 

त्यस्तै, चुरे गाउँपालिका अध्यक्षमा भने एमालेका उम्मेदवार चक्रबहादुर बोगटी ३ हजार ३०५ मत ल्याई विजयी भएका छन् । 

उनले निकटतम प्रतिद्वन्द्वी एकीकृत समाजवादी उम्मेदवार लोकबहादुर सारुलाई २४ मतान्तरले पराजित गरेका थिए । 

यद्यपि उपाध्यक्षमा कांग्रेसकी उम्मेदवार धनादेवी थापा ३ हजार ४४९ मतसहित विजयी भएकी छन् । 

चुरे गाउँपालिकाअन्तर्गतका वडामा गठबन्धनभन्दा एमाले बलियो देखिएको छ । चार वडा एमालेले जितेको छ भने दुई वडामा कांग्रेसले जितेको छ । 

मोहन्याल गाउँपालिकाको वडा ५ को वडाध्यक्षमा नेपाली कांग्रेसका प्रविण घर्तीमगर विजयी भएका छन् ।

  • प्रकाशित मिति : भदौ १६, २०७९ बिहीबार १८:४७:५२

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया