विद्यालयको जग्गा एकातिर, पास अर्कैतिर

खोटाङको दिप्रुङ चुईचुम्मा गाउँपालिका–५ सछितापोखरीको पञ्चमीस्थित रोशाभञ्ज्याङ प्राविको नाममा फरक कित्ताको जग्गा पास भएको खुलेको छ । 

०४५ सालमा स्थापना भएको विद्यालयलाई स्थानीय ओमबहादुर थापा (राजन)ले निःशुल्क एक रोपनी जग्गा उपलब्ध गराएको, तर पास गर्नेबेला अर्कै ठाउँको जग्गा पास भएको खुलेको हो ।

जग्गादाता थापाले उपलब्ध गराएको जग्गामा भवन निर्माण गरेर विद्यालय सञ्चालन हुँदै आएकोमा ०७२ साल जेठ २८ गते जग्गा पास गरिएको थियो । तर, कित्ता नम्बर १७ बाट कित्ताकाट गरेर पास गर्नुपर्नेमा कित्ता नम्बर १५ बाट कित्ताकाट गरेर विद्यालयको नाममा पास गरिएको खुलेको हो । 

दिइएको जग्गा एकातिर, पास अर्कैतिर भएपछि हाल विद्यालय अप्ठ्यारोमा परेको छ । कतिपयले जग्गादाताले नियतवश अर्कै ठाउँको जग्गा पास गरिदिएको आरोप लगाइरहेका छन् । जग्गादाता परिवारले भने भुलवश अर्कै कित्ताको जग्गा पास भएकाले सो जग्गा फिर्ता गर्न र विद्यालय रहेको जग्गा पास गरिदिने बताइरहेका छन् । 

जग्गादाताले विद्यालय बनाइएकै ठाउँको जग्गा पास गरिदिने प्रतिबद्धता जनाए पनि विद्यालयको नाममा पास भइसकेको जग्गा फिर्ता गर्न मन्त्रिपरिषद्को निर्णय चाहिने भएकाले समस्या सिर्जना भएको प्रअ जर्ण चाम्लिङले बताए । 

हाल विद्यालयको चारवटा भवन छ । एकबाहेक सबै भवन जीर्ण छ । यस शैक्षिक–सत्र ४५ विद्यार्थी भर्ना भएका छन् । पठन–पाठन नियमित नभएपछि विद्यार्थी अन्य विद्यालय गएको अभिभावक बताउँछन् । केही समयअघि चाम्लिङ प्रअ बनेर आएपछि हाल विद्यालय सुधारको प्रयास सुरु भएको अभिभावक खगेन्द्र राईले बताए ।





  • प्रकाशित मिति : भदौ १६, २०७९ बिहीबार २१:३३:५४

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया