पहिलो एकदिवसीयमा केन्याको सामना गर्दै नेपाल, कप्तानीमा डेब्यु गर्दै रोहित

नेपालले घरेलु टोली केन्याविरुद्धको एकदिवसीय सिरिजअन्तर्गत आज पहिलो खेल खेल्दैछ । खेल नैरोबीस्थित जिमखाना क्रिकेट मैदानमा नेपाली समयअनुसार दिउँसो पौने १ बजे सुरु हुनेछ ।

केन्याविरुद्ध मैदान उत्रदा नेपाल सिरिजमा सुखद सुरुवात गर्ने योजनामा हुनेछ । टी–२० मा उत्कृष्ट प्रदर्शन गरेको घरेलु टोली विरुद्ध नेपाललाई जित निकाल्न सहज भने हुने छैन ।

यसअघि केन्याविरुद्ध पाँच खेलको टी–२० अन्तर्राष्ट्रिय सिरिज ३–२ ले जितेको नेपाल एकदिवसीय सिरिज पनि आफ्नो पक्षमा पार्ने सोचमा छ ।

केन्या पनि नेपाललाई हराएर सिरिजमा विजयी सुरुवात गर्न चाहन्छ ।  नेपालले रोहितकुमार पौडेलको कप्तानीमा केन्याविरुद्ध एकदिवसीय सिरिज खेल्नेछ । 

टोलीका नियमित कप्तान सन्दीप लामिछानेको अनुपस्थितिमा उपकप्तान रहेका पौडेलले नेपालको कप्तानी गर्ने भएका हुन् । सन्दीप क्यारेबियन प्रिमियर लिगका लागि वेस्ट इण्डिज पुगिसकेका छन् ।

नेपाल र केन्याले एकदिवसीयमा सन् २०१८ पछि एकअर्काको सामना गर्न लागेका हुन् । यो शैलीमा हालसम्म यी दुईले ६ पटक एकअर्को सामना गर्दा नेपालले दुई र केन्याले चार खेलमा जित हात पारेका छन् ।



सन् २०१४ मा एकदिवसीय विश्वकप छनोटअन्तर्गत अभ्यास खेलमा नेपाल र केन्याले पहिलोपटक एकअर्काको सामना गरेका थिए । जसमा नेपाल एक विकेटले पराजित हुन पुग्यो ।

सन् २०१८ मा आइसिसी विश्व लिग डिभिजन–२ अन्तर्गत भएको पछिल्लो भेटमा नेपाल तीन विकेटले विजयी भएको थियो । 



  • प्रकाशित मिति : भदौ १७, २०७९ शुक्रबार ७:२३:२०

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया