तेह्रथुममा एक वर्षमा चार सय ५७ मेट्रिक टन अकबरे उत्पादन

अकबरे खेतीलाई पछिल्लो समय तेह्रथुमका किसानले मुख्य नगदे बालीको रूपमा लिन थालेका छन् । अकबरेतर्फ किसानको बढ्दो आकर्षणसँगै तेह्रथुममा २९ हेक्टर क्षेत्रफलमा खेती हुँदै आएको छ । आर्थिक वर्ष २०७८-०७९ मा तेह्रथुम जिल्ला चार सय ५७ दशमलव ८७ मेट्रिक टन अकबरे उत्पादन भएको कृषि ज्ञान केन्द्र धनकुटाले जनाएको छ । 

केन्द्रको तथ्यांकअनुसार आर्थिक वर्ष २०७७-७८ मा २८ हेक्टर क्षेत्रफलमा तीन सय ८० मेट्रिक टन अकबरे उत्पादन भएको सूचना अधिकारी सुरज खनालले जानकारी दिए । परम्परागत खेतीबाट श्रम र मेहनत नै उठ्न छाडेपछि किसानहरू नगद बालीतर्फ आकर्षित बन्दै आएका छन् ।

थोरै क्षेत्रफलमा धेरै आम्दानी लिन सकिने भएकाले पनि अकबरे खेती गर्दै आएको स्थानीय रमेश खड्काले बताए । जिल्लाको विशेष गरी छथर गाउँपालिका अकबरे खेतीको पकेट क्षेत्र हो । प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाअन्तर्गत छथर गाउँपालिकामा अकबरे पकेट क्षेत्रको रूपमा विकास गरी खेतीलाई विस्तार गरिएको छ । स्थानीय बजारमा नै बिक्री हुने र राम्रो मूल्य हुँदा व्यापारीहरूले घरैबाट लैजाने गरेकाले पनि कृषकहरू अकबरे खेतीतर्फ हौसिएका हुन् । 

यहाँका किसानले एक रोपनीदेखि पाँच रोपनी क्षेत्रफलमा खेती गर्दै आएका छन्। अकबरे गाउँको मुख्य बजार केन्द्रहरूमा बिक्री हुने गरेको छ भने व्यापारीले पूर्वी तराईका विभिन्न जिल्लामा निर्यात गर्दै आएका छन् । पहिलो सिजनमा चार सय रुपैयाँसम्म मूल्य पाएको अकबरे अहिले भने बजारमा एक सय ५० रुपैयाँ प्रतिकिलो मात्रै बिक्री हुँदै आएको किसानहरू बताउँछन् ।  





  • प्रकाशित मिति : भदौ १७, २०७९ शुक्रबार ११:५९:१४

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया