मुख्य प्रशिक्षक श्रेष्ठले भन्छन् - साफ यु-१७ च्याम्पियनसिपमा नेपालकाे एक मात्र लक्ष्य उपाधि

साफ यू-१७ पुरुष च्याम्पियनसिप फुटबल प्रतियोगिता श्रीलंकामा भोलि सोमबारबाट सुरु हुँदैछ ।

प्रतियोगितामा नेपालसहित आयोजक श्रीलंका, भारत, भुटान, बंगलादेश र माल्दिभ्स गरी ६ टोलीको सहभागिता छ ।

प्रतियोगिताका लागि नेपाली टोली कोलम्बो पुगिसकेकाे छ । प्रतियोगितामा नेपालको मुख्य लक्ष्य उपाधि जित्नु रहेको मुख्य प्रशिक्षक उर्जन श्रेष्ठले बताए ।

'नेपालको लक्ष्य उपाधि जितेरै जाने हो । योभन्दाअघि हामी दोस्रो भएका थियाैँ । यसपटक जितेरै जाने हो त्यहीअनुसार टाेलीकाे तयारी भएको छ । खेलाडीहरू पनि राम्रा छन्,' प्रतियोगिताअघि मुख्य प्रशिक्षक श्रेष्ठले भने ।

प्रतियोगिताका लागि तयारी राम्रो रहेकाले पनि नेपालले लक्ष्य पूरा गर्नेमा उर्जन विश्वस्त छन् ।

'तयारी हाम्रो एकदम राम्रो भइरहेको छ । एक डेढ महिनादेखिकाे तयारी छ । श्रीलंकामा पनि २-३ दिन ट्रेनिङ गर्ने मौका पायौं । यहाँको ग्राउण्डको अवस्था बुझ्ने मौका पायौं । तयारी राम्रो छ,' उनले थपे ।



प्रशिक्षक उर्जनले सहभागी सबै टोलीको स्तर एकै भएको समेत बताए ।

'याे सबैको जुनियर टाेली हो । मिहिनेत गर्छन् । भुटानको पनि ग्रासरुट धेरै राम्रो छ,' उर्जनले भने, 'भारत त्यस्तै राम्रो देखिरहेको छ । तर, सबै टाेलीको स्तर एकै हो जस्तो लाग्छ ।'



नेपाली टिमका कप्तान प्रशान्त लक्ष्समले टाेलीको तयारी राम्रो भएको र भारतलाई बलियो प्रतिद्वन्द्वीकाे रूपमा लिएको बताए ।

'हाम्रो तयारी राम्रो छ । टाेलीकाे बलियो पक्ष भनेको एकता हो,' उनले भने, 'भारतको ग्रासरुट राम्रो भएकाले कठिन टाेलीका रूपमा लिएका छौँ ।'

प्रतियोगिताकाे समूह 'बी' मा नेपाल, भारत र भुटान छन् । नेपालले ७ सेप्टेम्बरमा भुटानसँग खेल्दै प्रतियाेगिताकाे सुरुवात गर्नेछ ।

यस्तै, नेपालले दोस्रो खेल भारतसँग ९ सेप्टेम्बरमा खेल्नेछ । समूह 'ए' मा आयोजक श्रीलंका, माल्दिभ्स र बंगलादेश  छन् ।

नेपाली टोली -

गोलकिपरः क्रिसल मोक्तान, समीर चन्द, रुबिन बोगटी

डिफेन्डरः अश्विन घोरासैनी, सीमान्त थापा, उनेश बुढाथोकी, मदन पौडेल, दीपक थापा मगर, निशान्त तामाङ, युनिश मगर, विक्रम तामाङ, प्रीतम कार्की, धीरज विश्वकर्मा

मिडफिल्डरः  प्रशान्त लक्ष्सम(कप्तान), मिराक लिङ्देन, सरोज दर्लामी, हरिशराज भट्ट, लच्छु थापा

फरवार्डः निरज कार्की, धनसिंह विक, विनोद केसी, सिजल राई, सुवास बम

  • प्रकाशित मिति : भदौ १९, २०७९ आइतबार १७:१५:५७

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया