निर्वाचनलगत्तै सडक संघर्षमा जाने प्रचण्डको घोषणा
फरकधार / १९ भदौ, २०७९
फाइल तस्वीर

नेकपा (माओवादी केन्द्र)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड'ले आगामी प्रदेशसभा र प्रतिनिधिसभा निर्वाचनलगत्तै आफू सडक संघर्षमा जाने घोषणा गरेका छन् ।



निर्वाचन प्रणाली र शासकीय प्रणाली बदल्दै मुलुकलाई रूपान्तरण गर्न आफू निर्वाचनपछि लगत्तै सडक संघर्षमा जाने उनको भनाइ थियो । 

आइतबार काठमाडौंमा आयोजित ‘समाजवादको नेपाली मार्गचित्र’ विषयक विचार गोष्ठीमा बोल्दै उनले संघीयता, गणतन्त्र र धर्मनिरपेक्षतामाथि प्रहार भएकाले आफू सबैभन्दा बढी छटपटीमा परेको र त्यसको निकासका लागि निर्वाचनलगत्तै आफू र आफ्नो नेतृत्वमा सडक आन्दोलनमा जाने योजना आफूले पार्टीभित्र तय गरिसकेको पनि बताए । 



उनले भने, ‘संघीयता र गणतन्त्रमाथि जसरी प्रहार भइराखेको छ । विभिन्न नाम र कोणबाट यो परिवर्तनलाई निस्तेज पार्ने र यो परिवर्तनको नेतृत्व गर्ने आफ्नो पार्टी र नेतृत्वलाई निस्तेज गर्ने जो चलिराखेको छ । हेर्नुहोला–चुनावपछि म यो प्रणाली बदल्नका लागि सडकमा जान्छु । सडकबाट मात्रै समाजवादको परिकल्पना जो संविधानमा गर्न खोजेको हो । ’



अध्यक्ष दाहालले समाजवादको यात्रालाई सुनिश्चित गर्नका लागि आफूले तत्कालीन एमाले र माओवादी केन्द्रबीच एकता गरेको तर त्यो टिक्न नसकेको पनि स्मरण गराए ।

उनले एक वर्षभित्र मुलुकमा आफू नेतृत्वको सडक संघर्ष हुने र त्यसले मुलुकमा विद्यमान शासन प्रणाली र निर्वाचन प्रणालीमा सुधार ल्याई राजनीति क्षेत्रमा देखिएका सबै विकृति र विसंगतिको अन्त्य हुने दाबीसमेत गरे । त्यसका लागि कम्युनिस्ट पार्टीबीच एकता गरेर अघि बढने अध्यक्ष दाहालको भनाइ थियो  । 

अध्यक्ष दाहालले संसद विघटन हुँदा भएको सडक आन्दोलनकै कारण त्यसको पुनर्स्थापना गर्न आफूहरू बाध्य भएको भनेर निलम्बित प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराले स्वीकार गरेको स्मरण गराउँदै आफूहरू सोही आन्दोलनकै बाटोबाट अघि बढने पटकपटक दोहोर्‍याए ।

  • प्रकाशित मिति : भदौ १९, २०७९ आइतबार १८:७:५,  

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई news@farakdhar.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, टिकटक, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्


यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया