लोकसेवा उर्त्तीण गरेका बलबहादुरले हेर्न पाएनन् नतिजा
'नमीठो घाउलाई लोकसेवाको नतिजाले बल्झाइदियो'

अछामको रामारोशन गाउँपालिका-१ मलाटीकोट गाउँका चेतबहादुर भण्डारीको परिवार यतिबेला स्तब्ध छ । यो परिवारलाई अहिले हर्स न विस्मात भएको छ ।

गत वर्ष २७ भदौका दिन कोरोना भाइरसका कारण बलबहादुर भण्डारीको ज्यान गयो तर तिनै बलबहादुरको नाम लोकसेवा आयोगको उर्त्तीण सूचीमा प्रकाशित भएपछि गाउँले, साथीभाइ तथा सामाजिक सञ्जालमा जोडिएका मित्र स्तब्ध बनेका छन् ।

गत वर्ष लोकसेवा आयोग पश्चिमाञ्चल कार्यालयले लिएको खरिदारको लिखित परीक्षाको नतिजामा बलबहादुरको नाम खुला र पिछडिएको क्षेत्रबाट निस्किएको छ ।

कक्षा १२ उर्त्तीण गरेपछि लोकसेवा पढ्न अछामबाट भण्डारी सुर्खेत झरेका थिए । भण्डारीका पाँच दाजुभाइ र दुई दिदी-बहिनी छन् ।

सामान्य परिवारमा जन्मेका भण्डारीका जेठा दाइ भीमबहादुर भण्डारीले लोकसेवा आयोग उर्त्तीण गरेपछि उनमा पनि निजामती कर्मचारी बन्ने रहर जागेको उनका दाइ चेतभण्डारी बताउँछन् ।

‘हाम्रा जेठा दाइले गाउँमै लोकसेवा आयोगको परीक्षामा सफल हुनुभएको थियो । उहाँ लोकसेवा उर्त्तीण गर्ने गाउँमै पहिलो व्यक्ति हुनुहुन्छ । दाइको प्रेरणाबाट गाउँमा थुप्रै मान्छे प्रभावित भएका छन् । त्यही देखेर भाइले पनि लोकसेवा पढ्छु भनेको थियो,’ भण्डारीका दाइले टेलिफोन सम्पर्कमा भने ।



सुर्खेत झरेपछि भण्डारीले वीरेन्द्रनगरका विभिन्न इन्सिच्युटमा लोकसेवा तयारीका कक्षा लिएका थिए । पहिलो पत्रको सामान्य ज्ञान-खण्ड धेरै याद गरिसकेका थिए । लोकसेवा अध्ययनको करिब चार वर्षमा उनले धेरै पटक परीक्षा दिएको भण्डारीका दाजु चेतबहादुर सम्झन्छन्‍ । सामान्य ज्ञानमा दाजुभन्दा राम्रो दख्खल रहेको उनी बताउँछन् ।

‘भाइले लोकसेवा अध्ययन गरेको चार वर्ष पूरा हुँदै थियो । उसले आयोगका पूर्वमा धनकुटादेखि पश्चिममा दिपायलसम्म खुलेका परीक्षामा सहभागिता जनाएको थियो । पहिलो पत्रमा सधैँ उर्त्तीण हुन्थ्यो । हाम्रो दाजु पनि पढाइमा तीक्ष्ण हुन् । दाजुले भन्नुहुन्थ्यो सामानज्ञान त मेरोभन्दा राम्रो आउँछ यसलाई,’ दाजु चेतबहादुरले मलिन स्वरमा सुनाए ।



बलबहादुर पाँच भाइमध्ये कान्छा हुन् । गाउँमा सबैसँग मिलनसार थिए । मिलनसार स्वभावका कारण उनलाई सबैले अझै सम्झिने गरेको चेतबहादुरको भनाइ छ । 

‘मिलनसार भएर होला भगवानले चाँडै हामीबाट छुटाएर आफ्नो बनाउनु भयो’ फोनमा कुरा गर्दा चेतबहादुरले लामो स्वास फेरिरहेका थिए । उनलाई विगत स्मरण गर्न गाह्रो भइरहेको थियो ।

पहिलो पत्रमा थुप्रै पटक उर्त्तीण भएका बलबहादुर लोकसेवा आयोग बुटवल, दिपायल तथा पोखराका सुब्बा र खरिदारको लिखित परिक्षाको नतिजा पर्खिरहेका थिए । त्यसैबीच मुलुकमा दोस्रो चरणको कोरोना महामारी फैलियो । दोस्रो चरणको कोरोना महामारीकै बेला सुर्खेतमा उनी बिरामी परे ।

उनलाई सुरुमा ज्वरोले च्याप्यो । ज्वरो बढ्दै गएपछि उनले टाइफाइडको औषधि खाएका थिए । बलबहादुरलाई ठीक नभएपछि नभएपछि सुर्खेतको कालागाउँ अस्पताल भर्ना गरिएको दाजु चेतबहादुर सम्झिन्छन् ।

उनी भन्छन्, ‘ज्वरो बढ्दै गएपछि कालागाउँ अस्पतालमा कोरोना परीक्षण गरेका थियौँ । केही दिनको बेड रेस्टपछि अस्पतालले सन्चो भयो अब घर जाँदा हुन्छ भनेर डिस्चार्ज गर्‍यो ।'

घर फर्केको दुई दिनपछि बलबहादुर फेरि बिरामी परे । दाजुले फेरि उनलाई कालागाउँ अस्पताल पुर्‍याए । चिकित्सकहरूले बलबहादुरको रगतमा अक्सिजनको मात्रा कम भएको बताए । निमोनिया पनि भएको भन्दै तुरुन्त नेपागन्ज लैजान भने ।

'चिकित्सकहरूले रगतमा अक्सिजनको मात्रा कम भएको छ । निमोनिया पनि भएको छ । यहाँ उपचार हुँदैन तुरुन्त नेपागन्ज लैजानुस् भने । हामीले भाइलाई हतारहतार नेपालगन्जको अस्पताल पुर्‍यायौँ । त्यहाँ पनि अवस्था जटिल भएको भन्दै काठमाडौं पुर्‍याउन भने । भाइको स्वास्थ्य अवस्था गम्भीर हुँदै गएको थियो । हामीले हेलिकोप्टरबाट लैजानी तयारी गरिरहेका थियौँ । बिहान नौ बजे हेलिकोप्टर पुग्ने भनेको थियो तर भाइले बिहान ६ बजे नै हामीबाट बिदा लिइसकेको थियो’ चेतबहादुरले भाइको अन्तिम क्षण सम्झिए ।

पारिवारिक जिम्मेवारी र परम्पराका कारण सानै उमेरमा बलबहादुरको बिहे भएको थियो । उनका एक छोरा र एक छोरी छन् । चेतबहादुरले हामीसँग कुरा गर्दैगर्दा एउटा दिवंगत बलहादुरसँग जोडिएको घटना स्मरण गरे ।

‘बलबहादुर बित्नुभन्दा केही पहिला कान्छो सन्तानको रूपमा घरमा छोरी जन्मिएकी थिइन् । छोरीको जन्मदर्ता गर्नुपर्ने भयो । परिवारमा छोरीको नाम के राख्ने भन्ने छलफल भइरहेको थियो । त्यतिबीचमा बलबहादुरले छोरीको नाम ‘सरपराइज’ राखौँ भन्यो । हामीले त्यही नाम राख्यौँ । तर, केही समयपछि भाइले नै सबैलाई दुःखद ‘सर्पराइज’ दिएर गयो । अहिले छोरीको नाम लिँदा पनि कताकता मन चसक्क हुन्छ ।’

‘हामीले तीतो अतितलाई जबरजस्ती भुल्न खोजेका थियौँ । तर, यो नतिजाले पुनः त्यही नमीठो घाउलाई बल्झाइदिएको छ,’ चेतबहादुरले मन्द स्वरमा थपे ।

  • प्रकाशित मिति : भदौ १९, २०७९ आइतबार २०:१७:३८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया