भलिबल संघको अध्यक्षमा चन्दको उम्मेदवारी

नेपाल भलिबल संघको बुधबार हुने नयाँ कार्यसमितिको निर्वाचनका लागि वर्तमान महासचिव जितेन्द्रबहादुर चन्दले अध्यक्ष पदका लागि उम्मेदवारी घोषणा गरेका छन् । चन्दले आइतबार पत्रकार सम्मेलन गर्दै भदौ २२ गते हुन लागेको नयाँ निर्वाचनका लागि औपचारिक रुपमा उम्मेदवारीको घोषणा गरेका हुन् । 

चन्दले १४ बुँदे प्रतिबद्धतापत्रसहित उम्मेदवारी घोषणा गरेका हुन् । भलिबललाई विश्व स्तरमा पुर्याउने र नेपालको भलिबलबाट खेलाडी बाँच्न सक्ने आधार बनाउनेसहित अध्यक्ष पदमा चन्दले उम्मेदवारी घोषणा गरेका हुन् । 

एक दशकदेखि संघको महासचिव पदमा काम गरिसकेका चन्दले १४ वटा एजेण्डामा राष्ट्रिय खेललाई माथि उठाउने प्रतिबद्धता जनाएका छन् । जसमध्ये स्थानीय तह जिल्ला प्रदेशदेखि केन्द्रसम्म रहेका संघहरुलाई व्यवस्थित गर्दै अगाडि बढाउने उनको योजना रहेको छ ।
 
भलिबल खेलको विकासमा लाग्न अभिप्रेरित गर्ने, संघ र संघसँग सम्बन्धित निकायसँग छलफल गरी वार्षिक क्यालेन्डर प्रकाशित गर्ने, कार्यन्वयन गर्ने, विद्यालय भलिबल कमिसनलाई सक्रिय गराइ कम्तीमा वर्षमा महिला र पुरुषको १÷१ राष्ट्रिय टिम बनाई अन्तर्राष्ट्रिय उमेर समूहमा सहभागी गराउने उनले उम्मेदवारी घोषणा कार्यक्रममा सार्वजनिक गरे । 

बुधबार हुने निर्वाचनका लागि संघकी उपाध्यक्ष निरोज मास्केले पनि गत महिना औपचारिक कार्यक्रममार्फत उम्मेदवारी घोषणा गरिसकेकी छिन् । योसँगै भदौ २२ गतेका लागि तय संघको निर्वाचनमा अध्यक्षमा प्रतिस्पर्धा हुने सम्भावना देखिएको छ । यसअघिको साधारणसभाले मनोरञ्जन रमण शर्माको अध्यक्षतामा निर्विरोध कार्यसमितिको चयन भएको थियो ।

यस्तै, संघको महासचिवमा रोशन श्रेष्ठले उम्मेदवारी घोषणा गरेका छन् । यसअघि महासचिव पदमा संघका वर्तमान सचिव मनवीर छन्त्यालले महासचिवमा उम्मेदवारी घोषणा गरेका थिए । चन्दको अध्यक्ष पदमा उम्मेदवारी घोषणा गर्ने कार्यक्रममा स्वागत मन्तव्य राख्दै श्रेष्ठले महासचिवमा उम्मेदवारी घोषणा गरेका हुन् । 

योसँगै भलिबल संघमा यसपटक प्यानलसहितको प्रतिस्पर्धा हुने सम्भावना बलियो बनेको छ । उता, नयाँ निर्वाचनका लागि अध्यक्ष पदमा उमेदवारी दिने घोषणा गरेकी संघकी सदस्य इन्दिरा निरौलाले उम्मेदवारी नदिने जनाउँदै आफ््नो समर्थन चन्दलाई रहने बताइन् । 



चन्दको घोषणा सभामा संघका अध्यक्ष मनोरञ्जनरमण शर्मा, पूर्व खेलाडी समेत रहनुभएका सशस्त्र प्रहरी बलका पूर्वआइजिपी दुर्जकुमार राई, पूर्वखेलाडी नेपाल प्रहरीका पूर्वडिआइजी रमेश खरेल, संघका वरिष्ठ उपाध्यक्ष यामबहादुर गुरुङ, उपाध्यक्ष हर्क सिंह धामी, कोषाध्यक्ष सुनकेशरी माली, सदस्य श्रीराम बोगटी, एभिसी रेफ्री पूर्ण चौलागाईंको उपस्थिति थियो ।



  • प्रकाशित मिति : भदौ १९, २०७९ आइतबार २१:८:८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया