मकवानपुर प्रतिनिधिसभा–२ : एमालेबाट को बलियो दाबेदार ?

सरकारले प्रदेशसभा र प्रतिनिधिसभाको निर्वाचन मंसिर ४ गते एकैदिन गर्दै छ । सोहीअनुसार राजनीतिक दलहरुले पनि आ–आफ्ना पार्टीबाट उम्मेदवार सिफारिस गरेर केन्द्रमा पठाउने क्रम जारी छ । 

मकवानपुरमा पनि स्थानीय तहको निर्वाचनको माहोल सेलाउन नपाउँदै संघीय र प्रदेशको निर्वाचनको माहोल सुरु भइसकेको छ । मकवानपुरमा चुनावी सरगर्मी दिनप्रतिदिन बढिरहेको छ । प्रदेशसभा निर्वाचनका लागि नाम सिफारिस गर्न नसकेका जिल्लाका राजनीतिक दलहरुले दुईवटा क्षेत्र रहेको प्रतिनिधिसभाका लागि नाम सिफारिसको कामलाई तीव्रता दिएका हुन् ।

मकवानपुरमा प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि नेकपा एमालेले आठजनाको नाम सिफारिस गरेको छ । प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि एमाले मकवानपुरका दुईवटै क्षेत्रीय कमिटीले शनिबार आठ–आठजनाको नाम सिफारिस गरेको हो ।

प्रतिनिधिसभाको दुईवटा क्षेत्र रहेको मकवानपुर जिल्लामा सबैको ध्यान भने क्षेत्र नम्बर २ तिर नै केन्द्रित भइरहेको छ । किनभने क्षेत्र नम्बर २ मा ‘हेभिवेट’ नेताहरुको भिडन्त हुने निश्चित छ । त्यसो त, नेकपा एमाले मकवानपुरले क्षेत्र नम्बर १ का लागि पनि तीनजनाको नाम सिफारिस गरेको छ । सिफारिसमा परेकामध्ये टिकट कसको हातमा पर्ला भन्ने अहिले सबैको चासोको विषय बनिरहकेको छ । 

युवालाई अघि बढाउने बताउँदै आएको एमाले मकवानपुरले नेकपा एमाले बागमती प्रदेश कमिटीका उपसचिव तथा प्रचार विभागका प्रमुख महेशकुमार बर्तौैला, एमाले नेता सुवासचन्द्र ठकुरी र बुद्धरत्न मानन्धरलाई उम्मेदवारमा सिफारिस गरेको हो ।

कसले पाउला टिकट ?



महेश बर्तौला

गत स्थानीय निर्वाचनबाट पार्टीभित्र पनि युवालाई अवसर दिनुपर्छ भन्दै दबाब बढेकाले बर्तौलाको सम्भावना बढेको छ । मकवानपुर क्षेत्र नम्बर २ मा जित्ने बलियो सम्भावना रहेका व्यक्तिको रुपमा बर्तौलाको नाम चर्चामा छ । युवा नेताको खोजी भइरहेको अवस्थामा ‘फ्रेस क्यान्डिडेट’ ल्याउने योजनाअनुसार बर्तौलाको नाम केही समय अघिदेखि नै चर्चामै रहेको छ । 



मकवानपुर क्षेत्र नम्बर–२ मा एमालेका तर्फबाट युवा नेता महेश बर्तौला नै प्रतिनिधिसभाको निर्वाचनमा होमिने बलियो आधार तयार भइरहेका छन् । युवालाई समेट्नुपर्छ भन्ने दबाब पार्टीभित्र चल्न थालेपछि बर्तौलाको नाम पार्टीले सिफारिस गरेको हो । 

विद्यार्थी राजनीतिबाट पार्टीको राजनीतिमा लागेका बर्तौला केन्द्रीय स्तरमा सजिलैसँग पहुँच राख्न सक्ने नेता हुन् । पार्टीले युवाहरूलाई समेट्नैपर्ने दबाब र गठबन्धनका उम्मेदवारलाई हराउनका लागि नयाँ र जोशिलो अनुहार लिएर जनतामाझ जानुपर्ने एमाले कार्यकर्ताको मत छ ।

पार्टीले तपाईंलाई टिकट दिनुपर्ने आधार के हुन् भन्ने हाम्रो प्रश्नमा बर्तौलाले भने, ‘पार्टीले मलाई पनि योग्य ठानेर उम्मेदवारको लागि सिफारिस गर्नु नै मेरो लागि ठूलो कुरा हो । अरु पनि उम्मेदवार हुनुहुन्छ । उहाँहरुको पनि आ–आफ्नै आधार होलान् । मेरो पनि छ । यो–यो आधारले जसरी पनि टिकट मैले नै पाउनपर्छ भन्ने घमण्ड त होइन । तर, पनि आमजनता र पार्टीले चाहेको नयाँ अनुहार, युवा पुस्ता र मैले पार्टीमा रहँदा गरेको पारदर्शी कार्य मूल्यांकनलाई आधार मानेर पनि क्षेत्र नम्बर २ को टिकट मैले पाउनुपर्छ भन्ने मलाई लागेको छ ।’

पार्टीले परिचित व्यक्तिभन्दा पनि भिजन बोकेको र चुनावी मैदान उत्रँदा मतदाताहरु खुसी हुने उम्मेदवारलाई टिकट थमाओस् भन्ने अपेक्षा रहेको बर्तौला बताउँछन् । 

सुवासचन्द्र ठकुरी

नेकपा एमाले मकवानपुरले प्रतिनिधिसभा २ मा सिफारिस गरेको अर्को चर्चामा रहेको नाम हो, सुवासचन्द्र ठकुरी । अहिले चित्लाङ–थानकोट सडकखण्ड निर्माणले गर्दा झनै परिचित बनेका ठकुरीलाई उनको लोकप्रियताको आधारमा समेत टिकट दिनुपर्ने केही कार्यकर्ताले बताउँदै आएका छन् । त्यसो त, लामो समय राजनीतिक यात्रामा सफल मानिएका ठकुरी तीनपटकको निर्वाचनमा विजयी भएर नागरिकको सेवा गर्न सफल भइसकेका व्यक्ति हुन् । 

०४९ सालको निर्वाचनमा तत्कालीन सिस्नेरी गाउँ विकास समितिको अध्यक्ष पदमा निर्वाचित भएका ठकुरीले ५ वर्षको अवधिमा गाविसको स्तरोन्नतिका लागि ठूलो योगदान गरेको उनको दाबी छ । पाँच वर्ष अध्यक्ष पद सम्हालिसकेका उनले अर्को स्थानीय तहको निर्वाचनमा पनि अध्यक्षका लागि टिकट पाए । ०५४ सालको निर्वाचनमा समेत सफलता हात पारेका थिए । त्यस्तै, ०७० सालमा संविधानसभा सदस्यमा नेपाली कांग्रेसका जयराम लामिछाने र नेकपा माओवादी केन्द्रका नारायणकाजी श्रेष्ठलाई पराजित गर्दै झण्डै १२ हजार मतले उनी विजयी भएका थिए । 

गाविस अध्यक्ष हुँदा उनले शिक्षा, स्वास्थ्य, खानेपानी तथा शिक्षा जस्ता सामाजिक पूर्वाधारहरुको निर्माण गर्न सफल भएका र पार्टीमा पनि विभिन्न पदहरुमा रहेर उल्लेखनीय काम गरेको भन्दै यिनै आधारहरुमा आफूलाई पार्टीले टिकट दिनुपर्ने उनको भनाइ छ । 

बुद्धरत्न मानन्धर

मकवानपुर क्षेत्र नम्बर २ का लागि एमालेले सिफारिस गरेका अर्का व्यक्ति हुन्, बुद्धरत्न मानन्धर । विगत लामो समयदेखि पार्टीमा लागेका उनलाई यसअघिका निर्वाचनमा समेत पार्टीले अगाडि बढाउने निर्णय गरेको थियो । तर, शिक्षण पेसामा आबद्ध रहेका मानन्धर झण्डै ४० वर्षदेखि पार्टीका अन्य व्यक्तिहरुलाई सघाउँदै ब्याक भइरहेका थिए ।  

उनी अब भने प्रतिनिधिसभाको निर्वाचनमा पार्टीको टिकटको अपेक्षा रहेको बताउँछन् । ‘लामो समय डोरमणि पौडेल सरदेखि हिरण्यलाल श्रेष्ठसम्मलाई सहयोग गर्दै आएँ ,’उनी भन्छन्, ‘अबको दिनमा भने नेतृत्व तहमा पुगेर नागरिकको सेवा गर्न चाहन्छु ।’  

पार्टीलाई सहयोग गर्दै आइरहेको, शिक्षण पेसामा लाग्दै पनि उत्तरी क्षेत्रमा सांगठनिक कार्यलाई निरन्तरता दिएको, शिक्षा, स्वास्थ्यजस्ता सामाजिक पूर्वाधारका लागि अहोरात्र खटिएको तथा निर्माण कार्य भइरहेको चित्लाङ–थानकोट सडक निर्माणका लागि योगदान दिएको आधारमा पनि पार्टीले आफूलाई टिकट दिनुपर्ने मानन्धर बताउँछन् । 

  • प्रकाशित मिति : भदौ १९, २०७९ आइतबार २१:४९:४४

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया