नेपाली कांग्रेस नेतृ शान्ती महत जाग्री आसन्न निर्वाचनका लागि बझाङ (ख) बाट प्रदेशसभा समानुपातिकतर्फ सिफारिस भएकी छन् । कांग्रेस प्रदेशसभा क्षेत्रीय कार्यसमिति बैठकले उनलाई प्रदेशसभा (ख) को समानुपातिकका लागि खस आर्य/महिला तथा पिछडिएको क्षेत्रबाट दोस्रो नम्बरमा सिफारिस गरेको हो ।
जाग्रीसहित १३ जना समानुपातिकतर्फ सिफारिस भएका हुन् । जाग्री विद्यार्थी राजनीतिदेखि नै कांग्रेसमा सक्रिय छिन् । २०५५/०५६ मा सिद्धनाथ बहुमुखी क्याम्पयसमा नेविसंघ सदस्य बन्दै कांग्रेस राजनीतिमा प्रवेश गरेकी उनले अहिलेसम्म विभिन्न भूमिका रहेर काम गरिसकेकी छन् ।
जाग्री २०६८ मा नेपाल ट्रेड युनियन बझाङ महिला संयोजक, २०६९ मा नेपाल शिक्षक संघ सदस्य, नेपाल महिला संघ, कांग्रेस १३ औं महाधिवेशनमा महाधिवेशन प्रतिनिधि पनि रहेकी सकेकी छन् ।
त्यस्तै, उनी कांग्रेस १४ औं महाधिवेशनमा महासमिति सदीय रहेकी थिइन् । साथै, जाग्रीले सप्रोस नेपाल, मष्टा मावि चुवावनमा अध्यापनदेखि विभिन्न संघसंस्थामा लामो समय काम पनि गरेकी छन् । उनले मानव अधिकारका लागि एकल महिला समूह जिल्ला अध्यक्षको भूमिका पनि सफलतापूर्वक निर्वाह गरेकी छन् ।
अहिले उनी सो संस्थामा प्रदेश उपाध्यक्ष छिन् । साथै, जाग्री मेची–महाकादी बुहारी संयुक्त बुहारी आवाज जिल्ला संयोजकसमेत हुन् । जिल्लामा पार्टीभित्र सक्रिय नेतृ भनेर चिनिने जाग्रीले यसपालि पार्टीले आफूलाई न्याय गर्नेमा विश्वस्त रहेकी बताइन् ।
‘लामो समयदेखि छोराछोरी, घरपरिवारभन्दा पनि पार्टी हित र संगठनको लागि खटिएकी छु, अझै खटिनेछु । सामाजिक सेवामा समर्पित भएर आफ्नो दुःख भुलेकी छु,’ उनले भनिन्, ‘नेपाली कांग्रेस गरिब, दुःखी, पीडितको पार्टी भएकोले यसपालि ममाथि अन्यान नहुनेमा आशावादी छु । पार्टीले सक्षम, इमान्दार र सक्रिय व्यक्तिलाई चिन्नसक्नेमा पनि विश्वस्त छु ।’
जाग्रीले यसपालि पार्टीले आफ्नो नाम उम्मेदवारको बन्दसूचीमा राख्नेमा आशावादी रहेको पनि बताइन् । ‘विद्यार्थी राजनीतिदेखि नै कांग्रेसमा क्रियाशील छु । योबीचमा जिल्लाको राजनीतिमा पनि निकै सक्रिय छु । स्थानीय तह होस्, प्रदेश वा प्रतिनिधिसभा सबै चुनावमा पार्टीलाई जिताउन पूरा कोसिस गर्दै आएकी छु । ४ मंसिरमा हुन लागेको चुनावमा पक्कै पनि पार्टीले मेरो सक्रियतालाई नजर अन्दाज गर्ने छैन,’ उनले भनिन् ।
बझाङ (ख) बाट जाग्रीसहित समानुपातिक प्रदेशसभा सदस्यका लागि रमेशबहादुर भण्डारी, सूर्यप्रकाश ओली, केशवराज जोशी, मन्जित ताम्राकार, निर्मला विक, महेश्वरी जोशी, मीना रावल, दीर्घराज जोशी, गुणाकर जोशी, कवि गिरी, कुमारी अवस्थी र ईश्वरबहादुर मल्लको नाम पनि सिफारिस भएको छ ।
त्यस्तै, ‘ख’ बाट प्रत्यक्षतर्फ देवराज शर्मा, कटक जप्रेल, ईश्वरबहादुर मल्ल, चित्र मल्ल, बाबु सिंह, मानबहादुर कठायत, रमेशबहादुर भण्डारी र रवीप्रकाश सिंहको नाम सिफारिस भएको छ ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।