हामी गाेर्खाली हाैँ, उपाधि जित्न प्रयासमा हुनेछौँः कप्तान एन्जिला

नेपाली राष्ट्रिय महिला टोलीकी नवनियुक्त कप्तान एन्जिला तुम्बापो सुब्बाले महिला साफ फुटबल च्याम्पियनसिपको उपाधि जित्न हरसम्भव प्रयास गर्ने बताएकी छिन् ।काठमाडौंमा सोमबार आयोजित प्रि–म्याच कन्फरेन्समा बोल्दै कप्तान एन्जिलाले उत्कृष्ट प्रदर्शन गर्दै घरेलु मैदानमा उपाधि जित्न प्रयास गर्ने बताएकी हुन् ।

‘अन्तिमसम्म मैदानमा लड्ने छौँ । हामी गोर्खाली हौँ । पहिलोपटक उपाधि जित्नका लागि हरसम्भव प्रयास गर्ने छौँ,’एन्जिलाले भनिन् ।

३ असोजसम्म त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा चल्ने महिला साफ भोलिबाट सुरु हुँदैछ । 

महिला साफको पाँच संस्करणमा नेपाल चार पटक उपविजेता बनेको छ ।  नेपालकै विराटनगरमा भएको पछिल्लो संस्करणको फाइनलमा नेपाललाई भारतले हराएको थियो । 

नियमित कप्तान रेनुका नगरकोटी प्रतियोगिता तयारीको क्रममा घाइते भएपछि कुमार थापाले एन्जिलालाई कप्तानीको जिम्मेवारी दिएका हुन् । यस्तै अमृता जैशीलाई उपकप्तान चयन गरिएको छ ।

कप्तान एन्जिलाले आफुमाथि गरिएको विश्वासलाई गुम्न नदिने समेत बताइन । ‘मलाई कप्तान बनाउनु भएकोमा धन्यवाद। त्यो विश्वासलाई गुम्न दिने छैन’,एन्जिलाले भनिन् ।  एन्जिलाले आफ्नो कप्तानीमा टोलीलाई उपाधि दिलाउने इच्छा रहेको समेत बताइन् ।



‘कप्तान हुने इच्छा सबैमा हुन्छ । त्यो अवसर मैले पाएको छु । मलाई आफ्नो कप्तानीमा उपाधि जित्ने मन छ । टोलीप्रति मलाई पूर्णविश्वास छ । अहिले बोल्नु भन्दा पनि मैदानमा देखाउने छौँ,’एन्जिलाले थपिन । नेपाली टोलीका मुख्य प्रशिक्षक थापाले बिगतलाई बिर्सिएर प्रतियोगितामा राम्रो गर्ने योजना रहेको बताए ।

‘सबै बिगतलाई बिर्सिएर राम्रो गर्ने लक्ष्य छ ।  ७ साताको अभ्यासले टोली राम्रो अवस्थामा छ । सिनियर र नयाँ खेलाडीको तालमेल मिलिरहेको छ’,थापाले भने ।



मुख्य प्रशिक्षक थापाले अहिले कुनैपनि टोलीलाई कमजोर प्रतिद्वन्दीको रुपमा लिन नहुने बताए ।

‘हामीले कसैलाई पनि अन्डरस्टिमेट गर्दैनौं । सबै राम्रो भएर आएका छन् । पहिला लिग चरणमा केन्द्रित रहन्छौं,थापाले भने,‘त्यसपछि बल्ल अघिल्लो चरणमा ध्यान दिनेछौँ । हामी प्रतियोगिताका लागि तयार छौँ ।’ 

थापाले घरेलु समर्थकलाई निरास नबनाउने बताएका छन् ।

‘हामी घरेलु समर्थकलाई निरास बनाउने छैनौं । टोलीले उत्कृष्ट फुटबल पस्कने छ । हामी उत्कृष्ट प्रदर्शन गर्दै विश्वलाई नेपालले पनि राम्रो फुटबल खेल्दो रहेछ भन्ने सन्देश दिन चाहन्छौं’ थापाले थपे । 

त्यस्तै, उनले लामो समय देखिको उपाधि तिर्खा मेटाउने प्रयास गर्ने बताएका छन् । 

‘हामीमा लामो समय देखि उपाधिको तिर्खा छ । यसपटक घरेलु मैदानको फाइदा उठाउँदै त्यो तिर्खा मेट्न चाहन्छौं ।’ उपाधि जितेर नेपाली महिला फुटबललाई माथिल्लो स्तरमा पु¥याउने कोसिसमा हुनेछौं’ थापाले भने । 

प्रतियोगितामा आयोजक नेपालसहित भारत, श्रीलंका, भुटान, बंगलादेश, पाकिस्तान र माल्दिभ्सको सहभागिता  छ ।

साफले सहभागी ७ टोलीलाई दुई समूहमा विभाजन गरेको छ । समूह‘बी’ नेपालको श्रीलंका र भुटान छन् । यस्तै, समूह ‘ए’ मा साविक विजेता भारत, माल्दिभ्स, बंगलादेश र पाकिस्तान रहेको छ ।

नेपालले भोली हुने उद्घाटन खेलमा भुटाको सामना गर्नेछ । नेपालले समूह चरणको दोस्रो तथा अन्तिम खेल २८ भदौमा श्रीलंकासँग खेल्नेछ ।
 

  • प्रकाशित मिति : भदौ २०, २०७९ साेमबार १५:४९:२७

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया