छैटौँ संस्करणको महिला साफ च्याम्पियनसिप फुटबल प्रतियोगिता आजबाट काठमाडौंमा सुरु हुँदैछ । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा हुने प्रतियोगिताको उद्घाटन युवा तथा खेलकुद मन्त्री महेश्वरजंग गहतराजले गर्नेछन् ।
उद्घाटन खेलमा नेपालले आज भुटानको सामना गर्दैछ । खेल नेपाली समयअनुसार साँझ साढे ५ बजे सुरु हुनेछ । साविक उपविजेता नेपाल आज भुटानलाई हराउँदै सुखद सुरुवात गर्ने योजनामा हुनेछ ।
अन्डरडग टोली भुटान पनि आज जित निकाल्दै विजयी सुरुवात गर्ने सोचमा छ । महिला साफ च्याम्पियनसिपको इतिहासलाई हेर्ने हो भने नेपाल बलियो देखिन्छ । यी दुई टोलीले साफका हालसम्म तीन खेलमा एकअर्कोको सामना गरेका छन् । जसमा नेपाल तीनै खेलमा विजयी भएको छ ।
नेपाल र भुटानले सन् २०१४ को साफमा पहिलोपटक एकअर्काको सामना गरेका थिए । पाकिस्तानमा भएको सो खेलमा नेपालले भुटानलाई ८–० ले हराएको थियो । सन् २०१६ मा भारतले आयोजना गरेको साफमा पनि नेपाल ८–० ले विजयी भयो ।
पछिल्लोपटक सन् २०१९ मा विराटनगरमा खेल्दा नेपाल ३–० ले विजयी भएको थियो । प्रतियोगितामा आयोजक नेपाल, भारत, श्रीलंका, भुटान, बंगलादेश, पाकिस्तान र माल्दिभ्सको सहभागिता छ ।
साफले सहभागी ७ टोलीलाई दुई समूहमा विभाजन गरेको छ । समूह ‘ए’ मा साविक विजेता भारत, माल्दिभ्स, बंगलादेश र पाकिस्तान छन् । यस्तै, समूह ‘बी’ मा आयोजक नेपाल, श्रीलंका र भुटान छन् ।
समूहका शीर्ष दुई टोलीले सेमिफाइनलमा स्थान बनाउने छन् । फाइनल खेल ३ असोजमा हुनेछ । नेपालले समूह चरणको दोस्रो तथा अन्तिम खेल २८ भदौमा श्रीलंकाविरुद्ध खेल्नेछ ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।