प्रतिनिधिसभा निर्वाचन : राप्रपाका सिंह पाँचौंपटक सिफारिस, यसपालि पूरा होला सांसद बन्ने सपना?

राप्रपा मकवानपुरले ४ मंसिरमा हुने प्रतिनिधि सभा सदस्य निर्वाचनको लागि पार्टीको केन्द्रीय सदस्य दिपकबहादुर सिंहलाई मकवानपुर क्षेत्र नम्बर १ को उम्मेदवार बनाउने निर्णय गरेको छ । राप्रपा मकवानपुरको जिल्ला कमिटीको बैठकले सिंहलाई उम्मदवार बनाउन सिफारिस गरेको हो । 

पार्टीले सिंहलाई मकवानपुर क्षेत्र नम्बर १ का लागि एकल  सिफारिस गरेपछि सिंहको गर्जन अब प्रतिनिधिसभा निर्वाचनमा हुने भएको छ । प्रतिनिधिसभा सदस्यका लागि २ र प्रदेश सभा निर्वाचनका लागि ४ वटा निर्वाचन क्षेत्रको रूपमा निर्धारण गरिएको मकवानपुरमा चुनावी रौनक सुरु भइसकेको छ । प्रतिनिधिसभा र प्रदेश सभा निर्वाचन घोषणासँगै जिल्लामा उम्मेदवार चयनका लागि प्रमुख दलका नेताहरूले गृहकार्य सुरु गरेका छन् । 

सरकारले मंसिर ४ गते एकै चरणमा निर्वाचन गर्ने घोषणा गरेसँगै जिल्लामा चुनावी सरगर्मी बढेको छ । अन्य दलहरूसँगै राप्रपा मकवानपुरले पनि प्रतिनिधिसभा सांसदका लागि उम्मेदवार सिफारिस गरेको हो । 

राष्ट्रिय प्रजातन्त्र पार्टीबाट प्रतिनिधिसभामा मकवानपुरको क्षेत्र नम्बर १ बाट उम्मेदवारी सिफारिस भएका सिंहको चर्चा छुट्टै छ । गएको ३० वैशाखमा सम्पन्न स्थानीय तहको निर्वाचनमा हेटौंडा उपमहानगरपालिकाको मेयर पदका उम्मेदवार सिंह थोरै मतान्तरले मात्रै पराजित भएका थिए । 

२०४६ को बहुदलअघि राप्रपा मकवानपुरको पहिलो पार्टीको रूपमा रहेको थियो । बहुदल स्थापनापछि कम्युनिष्टहरूको प्रभाव बढ्दै जाँदा राप्रपा कमजोर बन्दै गयो । त्यसयता मकवानपुरमा राप्रपाले आफ्नो उपस्थिति खासै राम्रोसँग देखाउन सकेको थिएन ।    

संस्थापनकालदेखि नै राप्रपामा रहेर पार्टी हितका लागि थुप्रै संगठनमा सक्रिय रहेका सिंहले २०५४ सालमा  हेटौंडा उपमहानगरपालिकाको मेयरका राप्रपाको तर्फबाट उम्मेदवार रहेका थिए । त्यसबेला उनी प्रत्यासी डोरमणि पौडेलसँग ६ सय मतान्तरले पराजित भए ।



त्यसपछि २०५६ सालमा प्रतिनिधिसभा निर्वाचनमा मकवानपुर क्षेत्र नम्बर १ मा उम्मेदवारी दिएका सिंहले तत्कालीन एमालेका उम्मेदवार रहेका विरोध खतिवडासँग १५ सय मतान्तरले पराजित बेहोरे । त्यसपछि २०७० सालको संविधानसभा निर्वाचनमा उनी नेकपा एमालेका अनन्त पौडेलसँग २ हजार मतान्तरले पराजित भए ।

गत ३० वैशाखमा सम्पन्न स्थानीय तहको निर्वाचनमा सिंह गठबन्धनकी उम्मेदवार मीना लामासँग २५ सय मतान्तरले पारजित भए । यो पराजयसँगै चार पटकको निर्वाचनमा पराजित भएका उनी पाँचौंपटक मकवानपुरको प्रतिनिधिसभा क्षेत्र नम्बर १ बाट राप्रपाका तर्फबाट एकल सिफारिसमा परेका हुन् । 



  • प्रकाशित मिति : भदौ २१, २०७९ मंगलबार ९:८:१६

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया