सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले गठबन्धनले नै राजनीतिक स्थिरता, विकास र समृद्धिको बाटोमा देशलाई अग्रसर बनाउने बताएका छन् । मंगलबार मन्त्रालयमा नेपाल प्रेस युनियनसम्वद्ध पत्रकारसँगको भेटमा उनले यस्तो बताएका हुन् ।
नेपाल प्रेस युनियनसम्वद्ध पत्रकार ले नेपाल मिडिया काउन्सिल विधेयक र समसामयिक विषयमा मन्त्री कार्कीको ध्यानाकर्षण गराएका थिए । उनले निर्वाचन निर्धारित समयमा सम्पन्न हुने उल्लेख गर्दै निर्वाचनमा अहिलेको गठबन्धन कायम रहनेमा शंका नरहेको बताए । मन्त्री कार्कीले गठबन्धनले संविधानको, लोकतन्त्रको रक्षा गर्दै जनताको विकास र समृद्धिको चाहनालाई चाँडो भन्दा चाँडो व्यवहारमा कार्यान्वयन गरेर देखाउने बताए ।
‘निर्वाचन निर्धारित समयमा सम्पन्न हुन्छ र यो निर्वाचनमा अहिलेको जुन गठबन्धन छ, यो गठबन्धन कायम रहन्छ । यो गठबन्धनले मुलुकलाई राजनीतिक स्थिरता, विकास र समृद्धिको बाटोमा अग्रसर गराउँछ । यो गठबन्धनले मुलुकको राजनीतिलाई सही ट्रयाकमा ल्याउन गठबन्धनको निर्माण भएको हो,’ उनले भने, ‘गठबन्धनले संविधानको, लोकतन्त्रको रक्षा गर्दै जनताको विकास र समृद्धिको चाहनालाई चाँडोभन्दा चाँडो भाषणमा, टेलिभिजनमा, दस्ताबेजमा होइन, व्यवहारमा अनुभूत हुने गरेर अघि बढाउने दृढ संकल्पका साथ अघि बढ्छ । सिट तीन आधारमा बाँडफाँट हुन्छ, न्यायोचित, सम्मानजनक र सबैले मैले जितेको छु भन्ने भावका साथ सिटको बाँडफाँट व्यवस्थित रूपले चाँडै नै हुनेछ ।’
मन्त्री कार्कीले गठबन्धनभित्र आगामी ४ मंसिरमा हुने प्रतिनिधि सभा र प्रदेश सभा सदस्यको निर्वाचनका लागि न्यायोचित, सम्मानजनक र सबैले मैले जितेको छु भन्ने भावका सिट बाँडफाँट कार्य सम्पन्न हुने स्पष्ट पारे ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।