प्रधानमन्त्री देउवाले दिए ट्रसलाई बधाई, भने- उहाँसँग काम गर्न तयार छु

प्रधानमन्त्री शेरबहादुर देउवाले लिज ट्रस बेलायतको कन्जरभेटिभ पार्टीको नेताको रूपमा निर्वाचित भएकोमा बधाई दिएका छन् । सोमबार ट्रस कन्जरभेटिभ पार्टीको नेतामा निर्वाचित भएपछि प्रधानमन्त्री देउवाले आज सामाजिक सञ्जाल ट्विटरमार्फत उनलाई बधाई दिएका हुन् । 

‘कन्जरभेटिभ पार्टीको नेताको रूपमा निर्वाचित भएकोमा म लिज ट्रसलाई हार्दिक बधाई दिन चाहन्छु, जसले उनलाई बेलायतको प्रधानमन्त्री बनाउनेछ,’ प्रधानमन्त्री देउवाले भनेका छन्, ‘लामो समयदेखिको नेपाल–बेलायत सम्बन्धलाई अझ सुमधुर बनाउन उहाँसँग काम गर्न म तत्पर छु ।’ 

विदेशमन्त्री लिज ट्रस सत्तारुढ कन्जरभेटिभ पार्टी नेता चुनिएसँगै उनी बेलायतको प्रधानमन्त्री हुने निश्चित भएको हो । यससँगै बेलायतले झन्डै दुई महिनापछि नयाँ प्रधानमन्त्री पाउने भएको छ । 

४७ वर्षीया ट्रसलाई  बेलायतकी महारानीले नयाँ प्रधानमन्त्रीको रूपमा मंगलबार नियुक्ति गर्नेछिन् । सुरुमा कन्जरभेटिभ पार्टीको दलको नेतामा आठ जना उम्मेदवारी दिए पनि अन्तिममा दुई जनाबीच दलको नेताको लागि निर्वाचन भएको थियो । 

पार्टीको संसदीय दलको नेताका लागि पार्टी सदस्यहरूले गत शुक्रबार मतदान गरेका थिए । सोमबार प्राप्त अन्तिम नजितामा सुनाकाले ६० हजार ३९९ र ट्रसले ८१ हजार ३२६ मत प्राप्त गरिन् । खसेको कुल मत मध्ये ट्रसले ५७.४ प्रतिशत र सुनाकले ४२.६ प्रतिशत मत प्राप्त गरेका थिए । 

सन् २०१९ को आम निर्वाचनमा बहुमत ल्याएर प्रधानमन्त्री बनेका बोरिस जोन्सनविरुद्ध आफ्नै मन्त्रिपरिषद्का पाँच दर्जन सदस्यले विद्रोह गरेपछि प्रधानमन्त्री पदबाट राजीनामा दिन बाध्य भएका थिए ।  



बेलायतमा बढ्दो मुद्रास्फीति तथा बैंक ब्याजदर, आर्थिक मन्दी, खाद्यान्न तथा ऊर्जामा उच्च मूल्यवृद्धि, युक्रेन–रुस युद्धलगायतका मुख्य चुनौती नयाँ प्रधानमन्त्री ट्रसले सामना गर्नुपर्ने छ । 

यसअघि उनले आफू प्रधानमन्त्री बनेमा एक साताभित्र ऊर्जामा बढ्दो उच्च मूल्यवृद्धि घटाउने, राहताका प्याकेज घोषणा गर्ने बताएकी थिइन् । 



  • प्रकाशित मिति : भदौ २१, २०७९ मंगलबार १०:३७:२५

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया