कर्मचारीबाट कुटिएका डाक्टरविरुद्ध नै पक्राउ पुर्जी जारी

जुम्लामा कर्मचारीको कुटपिटमा परेका स्वास्थ्यकर्मीलाई पक्राउ पुर्जी जारी भएको छ । कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको आकस्मिक कक्षमा कार्यरत डाक्टर करण साहविरुद्ध पक्राउ पुर्जी जारी भएको हो । 

उनीमाथि २ भदौमा प्रतिष्ठानकै एक कर्मचारीले हातपात गरेका थिए । तर, जुम्ला जिल्ला अदालतले तीनै डा. साहलाई अनुसन्धानका लागि नियन्त्रणमा लिन पक्राउ पुर्जी जारी गरेको छ ।

उनलाई नियन्त्रण लिएर अनुसन्धान थाल्न जिल्ला अदालतले सोमबार पक्राउ पुर्जी जारी गरेको हो । प्रतिष्ठानमा उपचारका क्रममा बाल हिंसा गराएको आरोपमा डा. साहविरुद्ध जाहेरी दरखास्त दर्ता भएपछि अनुसन्धानका लागि पक्राउ अनुमति मागेअनुसार उनलाई पक्राउ पुर्जी दिइएको जिल्ला अदालत जुम्लाका श्रेस्तेदार अधिकृत सरोजराज रेग्मीले जानकारी दिए ।

एसिया इन्टरनेशन मोडेल इंग्लिस स्कुलमा कक्षा युकेजीमा अध्ययनरत चन्दननाथ नगरपालिका–२ भण्डारीवाडाका ६ वर्षीय बालक पृथकविक्रम शाहीको उपचारमा डा. साहले बाल हिंसा गरेको भन्दै बालककी आमा आशा हमाल (शाही) ले प्रहरीमा यही १३ भदौमा जाहेरी दिएकी थिइन् । 

‘बाल हिंसाको आरोपमा प्रहरीमा डा. साह विरुद्धमा जाहेरी परेको थियो ।  त्यसको अनुसन्धान गर्न प्रहीले अदालतसँग पक्राउ अनुमति माग्यो,’ अधिृकत रेग्मीले भने,  ‘प्रहरीले त्यस अनुसार अदालतले अनुसन्धान प्रयोजनको लागि फुक्का अनुमति दिएको हो ।’ 

अहिलेको कानुनी व्यवस्थाअनुसार कुनै आरोपितविरुद्धको अनुसन्धान प्रयोजनका लागि प्रहरीले अदालतसँग पक्राउ अनुमति माग्ने नियम रहेको उनले बताए । आरोपित साह महोत्तरीको जलेश्वर नगरपालिका–५ निवासी हुन् । 



यता, चिकित्सक तथा स्वास्थ्यकर्मीले डाक्टर साहमाथि कुटपिट गर्ने कर्मचारी धनबहादुर शाहीलाई कारबाही हुनुपर्ने माग राखेका छन् । स्वास्थ्यकर्मीले ५ भदौमा प्रतिष्ठानको आकस्मिकबाहेकका सबै सेवा ठप्प पारेका थिए । 

चिकित्सक तथा स्वास्थ्यकर्मीले जिल्ला प्रशासन कार्यालय जुम्लामा समेत ज्ञापनपत्र बुझाइसकेका छन् ।  



  • प्रकाशित मिति : भदौ २१, २०७९ मंगलबार १२:५०:३९

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया