विगत हेर्दा : भुटानविरुद्ध सावित्राको शानदार प्रदर्शन

महिला साफ च्याम्पियनसिपको छौटौं संस्करणअन्तर्गत आज हुने उद्घाटन खेलमा घरेलु टोली नेपालले भुटानको सामना गर्दैछ । 

खेल त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा नेपाली समयानुसार साँझ साढे पाँच बजेबाट हुने छ । भुटानविरुद्ध मैदान उत्रिँदा सबैको नजर नेपाली फरवार्ड सावित्रा भण्डारीमा पर्ने निश्चित छ ।  

विगतलाई हेर्ने हो भने भुटानविरुद्धका खेलमा सावित्राको प्रदर्शन शानदार देखिन्छ । संयोग पनि कस्तो भने, उनले सन् २०१४ मा भुटानविरुद्धको खेलमार्फत नै सिनियर टोलीबाट अन्तर्राष्ट्रिय डेब्यु गरेकी थिइन् । 

पाकिस्तानको इस्लामावादमा भएको तेस्रो साफमा भुटानविरुद्ध डेब्यु खेलमै गोल गरेकी सावित्राले नेपालका लागि हालसम्म ३८ गोल गरेकी छन् । उनी नेपालका लागि सर्वाधिक अन्तर्राष्ट्रिय गोल गर्ने खेलाडी हुन् । 

सो खेलमा सावित्राले बेन्चबाट मैदान प्रवेश गर्दै राष्ट्रिय टोलीका लागि डेब्यु गरेकी थिइन् । मैदान प्रवेश गरेको केहीबेरमै उनले गोल गर्न सफल भइन् । 

नेपालले ८–० को फराकिलो जित दर्ता गर्दा सावित्राले खेलको ८८ औँ मिनेटमा गोल गरेकी थिइन् । 



अनु लामा र निरु थापा सिनियर खेलाडीका रूपमा रहेकाले उक्त प्रतियोगितामा उनले खासै अवसर पाइनन् ।

सन् २०१६ मा भारतको सिलिगुडीमा भएको चौथो साफमा भने सावित्रा नेपाली टोलीको मुख्य फरवार्डको रूपमा थिइन् । 



अनु लामा चोटका कारण बाहिरिँदा र निरु थापा अन्तिम टोलीमा नपर्दाको फाइदा उनलाई भयो । त्यति बेलासम्म घरेलु फुटबलमा दबदबा कायम गरेकी सावित्रा सिनियर टोलीका लागि निर्विकल्प बनिसकेकी थिइन् ।

प्रतियोगिताको पहिलो खेलमै सावित्राले भुटानविरुद्ध ८–० को फराकिलो जितमा एक्लैले ६ गोल गरिन् । उनले खेलको पाँचौं, नवौं, २३ औं, ३५ औं, ७२ औं र ७७ औं मिनेटमा गोल गरेकी थिइन् ।

सन् २०१९ मा घरेलु मैदानमै भएको साफको पहिलो खेलमा नेपाल ३–० ले विजयी हुँदा सावित्राले उत्कृष्ट प्रदर्शन गरिन् । उनले खेलको १६ औं मिनेटमा गोल गरेकी थिइन् । 

हालसम्म भुटानविरुद्ध खेलेका ३ खेलमा सावित्राले कुल ८ गोल गरेकी छन् । भुटानविरुद्ध यसअघिका तीनवटै खेलमा गोल गरेकी उनी आज हुने चौथो खेलमा पनि त्यसलाई निरन्तरता दिन चाहन्छिन् ।

चोटका कारण लामो समय मैदानबाहिर रहेकी सावित्राले महिला लिगमा एपिएफबाट शानदार पुनरागमन गरेकी थिइन् ।

  • प्रकाशित मिति : भदौ २१, २०७९ मंगलबार १६:१३:४२

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया