एसिया कपमा श्रीलंकाको लगातार तेस्रो जित, फाइनल पुग्ने भारतको सम्भावना कठिन

यूएईमा जारी एसिया कप टी–२० प्रतियोगिताअन्तर्गत सुपर फोरमा श्रीलंकाले लगातार दोस्रो जित निकालेको छ । गएराति सम्पन्न खेलमा भारतलाई ६ विकेटले हराउँदै श्रीलंकाले लगातार दोस्रो जित निकालेको हो ।

समग्रमा भने श्रीलंकाको यो लगातार तेस्रो जित हो । उसले समूह चरणको अन्तिम खेलमा बंगलादेशलाई पनि हराएको थियो । यो जितसँगै श्रीलंकाले फाइनलको सम्भावना बलियो बनाएको छ । अघिल्लो खेलमा ऊ पाकिस्तानविरुद्ध ५ विकेटले पराजित भएको थियो ।  

सुपर फोरको आफ्नो दोस्रो खेलमा भारतले दिएको १७४ रनको लक्ष्य श्रीलंकाले १९.५ ओभरमा ४ विकेट गुमाएर भेट्टायो । उसका लागि कुशल मेन्डिस र पथुम निशांकाले अर्धशतकीय पारी खेले । ३७ बलको सामना गरेका मेन्डिसले चार चौका र तीन छक्कासहित ५७ रन बनाए । त्यस्तै, निशांकाले ३७ बलमा चार चौका र दुई छक्काको सहयोगमा ५२ रनको योगदान दिए ।

कप्तान दासुन शानकाले अविजित ३३ र भानुका राजापाक्षले नटआउट २५ रन बनाए । भारतका लागि युजवेन्द्र चहलले तीन र रविचन्द्रन आश्विनले एक विकेट लिए । त्यसअघि दुबई अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा टस हारेर ब्याटिङको निम्तो पाएको भारतले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर १७३ रन बनायो । उसका लागि कप्तान रोहित शर्माले उत्कृष्ट पारी खेले ।

४१ बलको सामना गरेका उनले पाँच चौका र चार छक्काको मद्दतमा ७२ रन बनाए । सूर्यकुमार यादवले ३४, ऋषभ पन्त र हार्दिक पाण्ड्याले १७/१७ रनको योगदान दिए । रविचन्द्रन आश्विनले ७ बलमा एक छक्काको मद्दतमा अविजित १५ रन बनाए । बाँकी ब्याटरले भने दोहोरो अंकमा समेत रन जोड्न सकेनन् ।

श्रीलंकाका लागि तीव्र गतिका बलर दिलशान मदुशंकाले तीन, कप्तान दासुन शानाका, चमिका कणारत्नेले दुई/दुई र महेश थिक्क्षणाले एकरएक विकेट लिए ।



यो जितसँगै श्रीलंका अंक तालिकाको शीर्ष स्थानमा पनि उक्लिएको छ । दुई खेलमा लगातार हार बेहोरेको भारत तेस्रो स्थानमा छ । यो हारसँगै फाइनल पुग्ने भारतको सम्भावना कमजोर बनेको छ । 



  • प्रकाशित मिति : भदौ २२, २०७९ बुधबार ७:१५:२१

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया