मौजुदा संघीय संसदमा नेपाल मजदुर किसान पार्टी (नेमकिपा)बाट एकैजना मात्र प्रतिनिधिसभा सदस्य छन्, प्रेम सुवाल । भक्तपुर–१ बाट निर्वाचित भएका उनी यसपटक पनि सोही निर्वाचन क्षेत्रबाट चुनावी मैदानमा उत्रिँदै छन् ।
नारायणमान विजुक्छे रोहितले पुस्ता हस्तान्तरण भन्दै आफ्नो क्षेत्रबाट पहिलोपटक आफ्नो क्षेत्रमा सुवाललाई ०७० मा उम्मेदवार बनाएका थिए । सुवाल विजयी पनि भए ।
त्यसपछि दोस्रोपटक ०७४ सालमा पनि सुवाललाई नै उम्मेदवार बनाइयो, फेरि पनि उनी फराकिलो मतान्तरले विजयी भए ।
यस वर्ष ४ मंसिरमा हुने प्रतिनिधिसभा सदस्य निर्वाचनमा पनि सुवाल नै एक्लो दाबेदार हुन् । पार्टीका अर्का सशक्त दाबेदार सुनिल प्रजापति भक्तपुर नगरपालिकाको प्रमुखमा रहेपछि सुवाल मात्रै एक्लो दाबेदारका रुपमा छन्, यस क्षेत्रमा नेककिपाबाट । सुवाल पार्टीका केन्द्रीय सचिव पनि हुन् ।
नेमकिपाको पकड क्षेत्र भए पनि यो क्षेत्रमा अन्य पार्टीहरुको पनि उम्मेदवारी नपर्ने भने होइन । अहिले गठबन्धनबाट सशक्त दाबेदारका रुपमा आएका छन्, डा. राजेन्द्र कोजू । भक्तपुर–९ तौलाछेंका डा कोजू नेकपा एकीकृत समाजवादीबाट क्षेत्र नं १ मा सिफारिस भएका छन् । उनी पाँचदलीय गठबन्धनबाट पनि सिफारिस हुने सम्भावना रहेको स्थानीय नेताहरु बताउँछन् ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।