नवौं राष्ट्रिय खेलकुदमा एनआरएनए क्रिकेट टाेलीको विजयी सुरुवात

नवौं राष्ट्रिय खेलकुद अन्तर्गत पुरुष क्रिकेटमा एनआरएनएले विजयी सुरुवात गरेको छ । एनआरएनएले आज सम्पन्न समूह ‘बी’ अन्तर्गतको खेलमा सुदूरपश्चिम प्रदेशलाई १२ रनले हराउँदै विजयी सुरुवात गरेको हो ।

सुदूरपश्चिमले भने प्रतियोगितामा हारबाट सुरुवात गरेको छ । ७५ रनको लक्ष्य पछ्याएको सुदूरपश्चिमले निर्धारित ६ ओभर नै ब्याटिङ  गरे पनि ६ विकेट गुमाएर ६२ रन मात्र बनाउन सक्यो ।

सुदूरपश्चिमका खडक बोहराले सर्वाधिक १२ रन बनाए । कप्तान राजु रिजालले ११ र बसन्त खत्रीले १० रन जोडे । वर्षाका कारण खेललाई ६ ओभरमा झारिएको थियो । 

एनआरएनएका आशिष पोखरेल र दीपक क्षेत्रीले तीन/तीन विकेट लिए । त्यसअघि कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस जितेर ब्याटिङ रोजेको एनआरएनएले ६ ओभरमा ४ विकेट गुमाएर ७४ रन बनायो । उसका लागि सागर पुनले उत्कृष्ट पारी खेले ।  

१९ बलको सामना गरेका उनले तीन छक्का र तीन चौकाको मद्दतमा सर्वाधिक ४६ रन बनाए । त्यस्तै, कप्तान सुनम गौतमले २४ रन जोडे । 

सुदूरपश्चिमका हेमन्त धामी र शेर मल्लले दुई/दुई विकेट लिए । यो जितसँगै एनआरएनएले २ अंक जोड्दा सुदूरपश्चिमले भने हारबाट प्रतियोगिताको सुरुवात गरेको छ ।



त्यस्तै प्रतियोगिताअन्तर्गत आजै मूलपानी क्रिकेटमा हुने तय गण्डकी र मधेश प्रदेश तथा लुम्बिनी र कर्णाली प्रदेशबीचको खेल भने टस समेत हुन नपाई रद्द भएको छ ।



  • प्रकाशित मिति : भदौ २३, २०७९ बिहीबार १५:४५:६

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया