आज इन्द्रजात्रा र अनन्त चतुर्दशी पर्व मनाइँदै
फाइल तस्बिर

देवता इन्द्रको पूजा आराधना गरी आज इन्द्रजात्रा मनाइँदैछ । प्रत्येक वर्ष भाद्र शुक्ल चतुर्दशीका दिन पर्ने यो पर्व काठमाडौं, ललितपुर, भक्तपुर, धुलिखेल, दोलखालगायत स्थानमा मनाइन्छ । 

भाद्र शुक्ल द्वादशीका दिन हनुमानढोका अगाडि धार्मिक विधिपूर्वक इन्द्रध्वजासहितको लिंगो उठाएपछि प्रारम्भ हुने यो जात्रा विभिन्न प्रकारका नाचगान, रथयात्रा र देवीदेवताको पूजाआजा गरी आठ दिनसम्म मनाउने प्रचलन छ ।
 
भाद्र शुक्ल द्वादशीका दिन लिंगो ठड्याउने प्रक्रियालाई इन्द्रध्वजोत्थान भनिन्छ । लिंगो फेदमा भैरवको पूजा गरिन्छ। शत्रु पराजय भएपछि विजय मनाउने पर्वका रुपमा इन्द्रजात्रा मनाउने गरिएको हो । 

यसअघि तान्त्रिक विधिद्वारा पूजा गरी भक्तपुरको चितपोल जंगलमा छोडिएको बोकाले छोएको रुख भाद्र शुक्ल द्वितीयामा काटिन्छ । काटेपछि लिंगोलाई उपत्यका भित्र्याउन पनि साइत हेरिन्छ । उपत्यका भित्र्याएपछि एक रात भोटाहिटीमा राखी एकादशीका दिन विधिपूर्वक इन्द्रध्वजाको लिंगो तयार पारिन्छ ।

आजको दिन मुख्यरूपमा मनाइने इन्द्रजात्रा पर्वमा राष्ट्रपतिबाट हनुमानढोकास्थित गद्दी बैठकमा जीवित देवीका रूपमा रहेका गणेश, भैरव र कुमारीको रथयात्रा अवलोकन गर्ने परम्परा छ । 

इन्द्रध्वजाको लिंगो ठड्याएपछि सुरु भएको जात्राभरि भक्कुनाच, महाकालीनाच, लाखेनाच, दशअवतार तथा देवराज इन्द्रको वाहन ऐरावत हात्तीको प्रतीकका रूपमा पुलुकिसी नाच नचाइन्छ ।

इन्द्रध्वजाको लिंगो ठड्याएको आठौँ दिनपछि अर्थात् आश्विन कृष्ण चौथीका दिन ‘इन्द्रध्वज पातन’ गर्ने अर्थात् लडाउने विधान रहेको र्मशास्त्रविद् प्राडा रामचन्द्र गौतमले बताए ।    



भाद्र शुक्ल चतुर्दशीका दिन अनन्तनाथ (भगवान् विष्णु) को पूजा, आराधना पनि गरिन्छ । यसैले यो दिनलाई अनन्त चतुर्दशी पनि भनिन्छ। आज धागोमा अनन्त मन्त्रण गरी बाँध्ने परम्परा छ ।   



  • प्रकाशित मिति : भदौ २४, २०७९ शुक्रबार ७:१८:३४

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया