श्रीलंकामा जारी साफ यू-१७ च्याम्पियनसिपमा नेपालले आज भारतसँग प्रतिस्पर्धा गर्दैछ । खेल कोलम्बाेस्थित रेस कोर्स ग्राउन्डमा नेपाली समयानुसार दिउँसो पाैने ४ बजे सुरु हुनेछ ।
आज नेपाल भारतलाई हराउँदै समूह विजेता बन्दै सेमिफाइनलमा पुग्ने योजनामा छ । तर, बलियो टोली भारतलाई हराउन नेपाललाई सहज भने छैन । भारत पनि आज जित हात पार्दै समूह विजेता बन्न चाहन्छ ।
समूह ‘बी’ मा रहेका नेपाल र भारत यसअघि नै सेमिफाइनल पुगिसकेका छन् । नेपालले पहिलो खेलमा भुटानलाई २–१ हराएको थियाे । भारतले पनि भुटानलाई ३–० ले हराएको थियो । दुवै खेलमा हार व्यहोरेको भुटान बाहिरिसकेको छ ।
समान ३ अंक भए पनि गोल अन्तरको आधारमा भारत पहिलो र नेपाल दोस्रो स्थानमा छन् । साफ यू–१७ को नाममा पहिलोपटक आयोजना हुन लागेको यो प्रतियोगितालाई यसअघि यू–१६ र १५ को नामबाट सञ्चालन गरिएको थियो ।
पहिलोपटक सन् २०११ मा साफ यू–१६ च्याम्पियनसिपका रूपमा आयोजना भएको यो प्रतियोगिताको पछिल्लो संस्करण २०१९ मा यू–१५ उमेर समूहमा आयोजना गरिएको थियो ।
यसअघि यू–१६ र १५ उमेर समूहमा यी दुई टोलीले ७ खेलमा एकअर्काको सामना गर्दा सबै खेल भारतले जितेको छ । यी दुई टाेलीले पहिलोपटक २०११ को साफ यू-१६ च्याम्पियनसिपको फाइनलमा एकअर्काले सामना गरेका थिए । याे खेल भारतले ट्राइब्रेकरमा ४-२ ले आफ्नो पक्षमा पार्यो ।
निर्धारित ९० मिनेट र अतिरिक्त समय १-१ को बराबरीमा सकिएपछि खेलको निर्णय ट्राइब्रेकरबाट लिइएकाे थियाे । सन् २०१९ मा साफ यू-१५ च्याम्पियनसिपअन्तर्गतको पछिल्लाे भेटमा भारतले ५-० काे सहज जित निकालेको थियाे ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।