राष्ट्र बैंकका डेपुटी गभर्नर भन्छन् - बैंकहरूमा तरलताको चाप छैन

नेपाल राष्ट्र बैंकका डेपुटी गभर्नर बमबहादुर मिश्रले बैंकमा तरलता अभाव नभएको बताएका छन् । 

शुक्रबार नेपाल उद्योग परिसंघले आयोजना गरेको पूर्वाधार सम्मेलनमा बोल्दै डेपुटी गभर्नर मिश्रले नेपालमा तरलता अभावभन्दा पनि लगानीयोग्य पूँजीको अभाव भएको बताएका हुन् । 

उनले विदेशी राष्ट्रको समेत प्रतिनिधित्व भएको सम्मेलनमा बारम्बार तरलताको चाप रहेकोभन्दा बाहिर राम्रो सन्देश नजाने बताए ।

'अहिले बैंकहरूमा तरलता चाप छ भनिरहनुभएको छ । बैंकहरूमा तरलताको चाप छैन । ऋण लगानीमा केही अफ्ठ्यारो मात्रै हो । बारम्बार तरलता चाप छ भनिरह्यौं भने विदेशी मुलुकमा नराम्रो प्रभाव पर्न जान्छ,' उनले भने ।

डेपुटी गभर्नर मिश्रले बैंकबाट ऋणपत्र (बण्ड) जारी गरेर पूर्वाधार विकासको लागि बृहत् लगानी जुटाउन सकिने बताए । उनले राष्ट्र बैंकले बैंकहरूले ५ खर्ब ३८ अर्ब रुपैयाँ बराबरको बण्ड निष्कासन गर्न सक्ने व्यवस्था गरेको बताए । 

मिश्रले राष्ट्र बैंकको नीति अनुसार ५ खर्ब ८ अर्बको  पूर्वाधार निर्माणमा लगानी जुटाउन सकिने बताए । उनले हालसम्म बैंकहरूले १ खर्ब ३० अर्ब रुपैयाँको बण्ड जारी गरिसकेको बताए । उनले पूर्वाधारमा निर्माणमा थप लगानीका लागि बाहिरबाट ऋण लिन पाउने व्यवस्था राष्ट्र बैंकले खुलाइएको बताए । उनले सजिलैसँग पस्न र बस्न देऊ भन्ने नीतिमा लाग्नुपर्छ भन्ने नीति राष्ट्र बैंकको भएको बताए । 



डेपुटी गभर्नर मिश्रले पिपिए खुलेपछि लगानी कसरी जुटाउने भन्ने चिन्ता केन्द्रीय बैंकलाई हुने गरेको बताए । उनले सरकारले पिपिए खुलाएपछि नेपाल बैंकर्स एशोसिएसनका अध्यक्ष तथा अन्य बैंकरलाई बोलाएर छलफल गरेको बताए ।

उनले ठूला पूर्वाधार आयोजना निर्माणमा हेजिङको विषय उठेन भने पूर्वाधार विकासको लगानी अधुरो रहने बताए । उनले अहिले सरकारको बजेट र राष्ट्र बैंकको नीतिमा हेजिङ शब्द लेखिने गरेको बताए । 



हेजिङ विनियमावली जारी भइसकेकाले पूर्वाधारमा लगानी गर्न आवश्यक सहजीकरणका लागि केन्द्रीय बैंक तयार रहेको बताए ।

त्यस्तै, नेपाल बैंकर्स एशोसिएसनका अध्यक्ष अनिल उपाध्यायले सरकारका तीनवटा बैंकले पूर्वाधार निर्माणमा वैदेशिक लगानी ल्याएर तत्काल सहयोग गर्नसक्ने बताए । उनले सरकारी बैंक भएकाले बैंक ग्यारेन्टी सरकार बस्ने र कन्ट्री रेटिङ पनि गर्नु नपर्ने बताए ।

उनले विदेशी लगानी ल्याउनको लागि बैंकको प्रमुख कार्यकारी अधिकृतको मात्रै जिम्मेवारी नभएको बताए । अध्यक्ष उपाध्यायले विदेशी लगानी ल्याउनको लागि बैंक व्यवस्थापनको पनि सहकार्य आवश्यक रहेको बताए ।

  • प्रकाशित मिति : भदौ २४, २०७९ शुक्रबार १६:१९:५१

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया