भुटानले नेपालमा जारी छैटौं संस्करणको महिला साफ च्याम्पियनसिप फुटबलमा पहिलो जित निकालेको छ ।
त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा शुक्रबार भएको खेलमा श्रीलंकालाई ५-० गोल अन्तरले हराउँदै भुटानले साफ इतिहासमै पहिलो जित निकालेको हो ।
भुटानलाई ऐतिहासिक जित दिलाउन डेखी लाजोमले २ तथा नामगेल डेमा, छिरिङ लादेन, छिरिङ याङ्देनले समान १ गोल गरे।
योसँगै टोलीको सेमिफाइनल पुग्ने सम्भावना बढेको छ ।
४२ औं मिनेटमा नामगेलले गोल गर्दै भुटानलाई अग्रता दिलाएकी थिइन् ।
डेखीले ५० औं मिनेटमा डेखीले टाेलीकाे अग्रता दोब्बर बनाइन् ।
६३ औं मिनेटमा डेखीले पेनाल्टीमा व्यक्तिगत दोस्रो तथा टाेलीका लागि तेस्रो गाेल गरिन् ।
सेलबाराज युवारानीले पेनाल्टी बक्समा आफैँलाई फाउल हानेपछि प्राप्त पेनाल्टीमा डेखीले गोल गरेकी थिइन् ।
८४ औं मिनेटमा छिरिङले टोलीका लागि चौथो गोल गरिन् ।
८९ औं मिनेटमा छिरिङ याङदेनले गोल गरेपछि भुटानले ५-० काे शानदार जित निकाल्याे ।
यस जितसँगै समूह 'बी' मा काे भुटानले २ खेलमा ३ अंक जोड्दा श्रीलंकाले हारबाट प्रतियाेगिताकाे सुरूवात गरेकाे छ ।
भुटानले पहिलाे खेलमा नेपालसँग ४-० काे हार बेहाेरेकाे थियाे ।
यसअघि साफ च्याम्पियनसिपको पहिलो संस्करणमा श्रीलंकासँग १-१ को बराबरी खेल्नु नै भुटानकाे उत्कृष्ट नतिजा थियो ।
याे जितअघि १४ खेलमा १ बराबरी र १३ हार बेहाेरेकाे भुटानले ७७ गोल खाँदा ३ गोल मात्र गर्न सकेको थियो ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।