बागमतीका मुख्यमन्त्री : डोरमणि र अष्टलक्ष्मीले चुनाव नलड्ने, राजेन्द्रले ताके प्रतिनिधिसभा

आगामी ४ मंसिरमा हुने प्रदेशसभा तथा प्रतिनिधिसभा निर्वाचनका लागि राजनीतिक दलले तीव्र पारेका छन् । निर्वाचनको मिति नजिकिएसँगै चुनावी सरगर्मी बढिरहेको हो । 

बागमती प्रदेशका सांसद प्रदेशमा दोहोरिने तथा मौका पाए प्रतिनिधिसभामै उम्मेदवारी दिने तयारीमा जुटेका छन् । यसैबीच प्रदेशका तीन मुख्यमन्त्री आगामी निर्वाचनमा के गर्लान् भन्ने आम चासोको विषय बनेको छ । 

बागमती प्रदेशका प्रथम मुख्यमन्त्री डोरमणि पौडेल, दोस्रो कार्यकालकी मुख्यमन्त्री अष्टलक्ष्मी शाक्य र वर्तमान मुख्यमन्त्री राजेन्द्रप्रसाद पाण्डे आगामी निर्वाचनमा के गर्लान् भन्ने चर्चाको विषय बनेको हो । 

यद्यपि, बागमती प्रदेशका २ पूर्वमुख्यमन्त्री चुनाव नलड्ने भएका छन् भने वर्तमान मुख्यमन्त्री पाण्डे भने धादिङको प्रतिनिधिसभा क्षेत्र नम्बर १ मा प्रत्यक्षतर्फ उम्मेदवारी दिने भएका छन् । 

डोरमणि पौडेल 

बागमती प्रदेशका प्रथम मुख्यमन्त्री पौडेल नेकपा एमालेबाट मकवानपुरको प्रतिनिधिसभा क्षेत्र नम्बर २ का हेभिवेट उम्मेदवारको नामले निकै चर्चा चलेको थियो । केही हप्ता सामाजिक सञ्जालमा समेत आकांक्षी भन्दै आइरहेको चर्चा धेरै दिन टिक्न सकेन । 



कारण अबदेखि कुनै पनि निर्वाचनमा भाग नलिने निवर्तमान मुख्यमन्त्री पौडेलले घोषणा गरे । निर्वाचनमा भाग लिएर देश विकासमा देन दिनसक्ने आँट भए पनि आफ्ना नाति उमेरका युवालाई राजनीति भविष्य सुम्पनु पर्ने भन्दै निर्वाचनमा भाग नलिने बताएका हुन् । निर्वाचनमा भाग नलिए पनि पार्टी बलियो बनाउनका लागि भने साथ दिइरहने उनको भनाइ छ ।  

केही दिनअघि सामाजिक सञ्जाल फेसबुकमार्फत अबको निर्वाचनमा युवा पुस्तालाई पालो दिने उनले लेखेका थिए । 



'राजनीति लहड, रहर र दबाब मात्रैले पक्कै चल्दैन । आवश्यकताको वस्तुपरक मूल्यांकनले निर्धारण गरेका कडीहरूका आधारमा उम्मेदवार चयन गर्न चुकियो भने परिणाम अनपेक्षित हुन सक्छ भन्ने कुराको हेक्का मेरो ५० औं वर्षको राजनीतिक अनुभवले बताउँछ । अहिलेको समाजले विगतमा परीक्षण भइसकेका जनप्रतिनिधिको सट्टामा नयाँ अनुहार खोजेको यथार्थलाई हामीले अनदेखा वा नजरअन्दाज गर्न मिल्दैन । दोस्रो पुस्ता मात्रै हैन अहिले नाति पुस्ता समेत देशको नेतृत्व हाँक्न तयार र सक्षम भएर बसेका छन्,' पौडेलले सामाजिक सञ्जालमा लेखेका थिए ।

एमालेले मिसन र भिजन भएका युवा उम्मेदवारलाई प्राथमिकता दिने भन्दै निर्वाचनमा भाग नलिने निवर्तमान मुख्यमन्त्री पौडेलको भनाइ छ । 

बागमती प्रदेशको पहिलो मुख्यमन्त्री भएर ४२ महिना सरकार चलाएका पौडेल मकवानपुरबाट प्रदेशसभा सदस्य निर्वाचित भएका थिए । २०७४ को निर्वाचनमा एमालेबाट मकवानपुर १(ख) मा पौडेल विजयी भएका थिए । 

उनी २०६४ र २०५४ मा हेटौँडा नगरपालिकाको मेयर निर्वाचित भएका थिए । ०७४ माघ १८ गते एमाले संसदीय दलका नेता पौडेललाई नियुक्त गरिएको थियो । ७४ वर्षीय पौडेल ४२ वर्षदेखि राजनीतिमा सक्रिय छन् ।

अष्टलक्ष्मी शाक्य

बागमती प्रदेशकी द्वितीया मुख्यमन्त्री शाक्य पनि आगामी निर्वाचनमा प्रदेश र प्रतिनिधिसभा कुनैमा पनि आफ्नो उम्मेदवारी नरहने बताएकी छन् । 

लामो समय राजनीतिक यात्रामा सामेल भएकी शाक्य आगामी निर्वाचनमा प्रदेशसभा तथा प्रतिनिधिसभा दुवैमा उम्मेदवारी नदिने बताएकी हुन् । 

औपचारिक रूपमा उम्मेदवारी नदिने घोषणा नगरे तापनि उम्मेदवारी दिने तयारी नरहेको शाक्यको भनाइ छ । 

२०४८ देखि २०५० सम्म राष्ट्रियसभा सांसद भएकी शाक्य २०५६ सालको प्रतिनिधिसभा निर्वाचनमा काठमाडौंबाट निर्वाचित भएकी थिइन् । 

उनी २०६१ सालमा तत्कालीन शेरबहादुर देउवा नेतृत्वको सरकारमा महिलामन्त्री बनेकी थिइन् । २०६४ सालको संविधानसभा निर्वाचनमा भने उनी पराजित भइन् । 

२०६५ सालमा उनी पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको सरकारमा उद्योगमन्त्री बनेकी थिइन् । २०७० को संविधानसभामा समानुपातिक सांसद बनेकी शाक्य २०७४ सालमा भने बागमती प्रदेशसभा सदस्य बनेकी थिइन् । 

प्रथम मुख्यमन्त्री पौडेलको राजीनामापछि बागमती प्रदेशको मुख्यमन्त्रीमा ०७८ भदौ २ गते अष्टलक्ष्मी शाक्य नियुक्त भएकी थिइन् । 

माधवकुमार नेपाल पक्षकी शाक्यलाई अध्यक्ष केपी शर्मा ओली पक्षले दलको नेता चयन गरेको थियो । उनी मुलुककै पहिलो महिला मुख्यमन्त्री तथा बागमती प्रदेशको दोस्रो मुख्यमन्त्री नियुक्त भएकी थिइन् । 

राजेन्द्र पाण्डे

बागमती प्रदेशका मुख्यमन्त्री राजेन्द्रप्रसाद पाण्डे प्रतिनिधिसभा क्षेत्र नम्बर १ मा प्रत्यक्षतर्फ उम्मेदवारीमा सिफारिस भएका छन् । 

२०७८ कात्तिक ११ गते नेपाली कांग्रेस, नेकपा (माओवादी केन्द्र) र जनता समाजवादी पार्टी (जसपा) को समर्थनमा पाण्डे मुख्यमन्त्री बनेका हुन् । 

बागमतीको मुख्यमन्त्रीमा नियुक्त भएका पाण्डे अब प्रदेशमा नदोहोरिने बताउँदै संघको निर्वाचनमा सहभागी हुने बताएका छन् । 

२०७४ मा धादिङबाट प्रदेशसभा सदस्य निर्वाचित उनी नेकपा एमाले विभाजनपछि नेकपा एकीकृत समाजवादीका केन्द्रीय उपाध्यक्ष छन् । 

पार्टीको केन्द्रीय उपाध्यक्ष पनि भएकाले अब संघमै चुनाव लडेर केन्द्रीय नेतृत्वलाई सहयोग गर्नुपर्ने मुख्यमन्त्री पाण्डे बताउँछन् । पाण्डे लगातार निर्वाचित हुने नेतामा पर्छन् । 

धादिङबाट २०४८, २०५१, २०५६ र २०७० को प्रतिनिधिसभा सदस्य निर्वाचित भएका थिए । उनले स्थानीय विकास मन्त्रालयको जिम्मेवारी सम्हालिसकेका छन् ।

चार पटक प्रतिनिधिसभा सदस्य भइसकेका उनी २०७४ को निर्वाचनमा भने मुख्यमन्त्री बन्ने उद्देश्यले प्रदेशसभामा फर्किएका थिए । 

उनी धादिङ १ ‘क’ बाट बागमती प्रदेशसभामा निर्वाचित पनि भएका हुन् । आगामी निर्वाचनमा भने संघमा आफ्नो उम्मेदवारी रहने बताउँदै तयारीमा जुटेका छन् । 

  • प्रकाशित मिति : भदौ २४, २०७९ शुक्रबार २१:४:५४

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया