यु–२०ः नेपाल र भुटान भिड्दै, एसियन कपमा छनोट हुनेमा प्रशिक्षक केसी आशावादी
प्रशिक्षक केसीले गरे टिममा ६ परिवर्तन
फाइल तस्वीर

अर्को वर्ष उज्वेकिस्तानमा हुने एएफसी यु–२० एशियन कपको छनोटका लागि नेपाली युवा टिम बहराइनमा छ । खेल आज राति ८ः४५ बजे सुरु हुनेछ ।  

भुटान, बंगलादेश र कतारसँगै समूह ‘बी’मा परेको बहराइनले नेपाललाई प्रतियोगिताको आतिथ्यता प्रदान गरेको हो । 

गत जुलाइमा भारतमा भएको साफ यु-२० च्याम्पियनसिपमा फाइनल यात्रा तय गर्न असफल रहेको नेपाली युवा टिम अर्को वर्षका लागि उज्वेकिस्तानको टिकट काट्ने लक्ष्यमा छ । 

शनिबारदेखि सुरु हुने छनोटको पहिलो खेलमा दक्षिण एशियाली प्रतिष्पर्धी भुटानसँग खेल्नुअघिको पत्रकार सम्मेलनमा बोल्दै मुख्य प्रशिक्षक मेघराज केसीले तयारी राम्रो भएको सुनाए । 

उनले भने, ‘हामीले तीन महिनादेखि तयारी गरिरहेका छौं । त्यसबीचमा हामीले साफ च्याम्पियनसिप खेल्यौं, त्यसैले एएफसी यु-१७ एशिया कपका लागि पनि हाम्रो तयारी राम्रो छ ।’

खुल्ला छनोटबाट तयार पारेको टिम लिएर साफ च्याम्पियनसिप खेल्न भारत पुगेका प्रशिक्षक केसीले बहराइन आएको टिममा ६ परिवर्तन गरेका छन् । 



साफ च्याम्पियनसिपपछि केही खेलाडी थपेर बन्द प्रशिक्षण सुरु गरेका प्रशिक्षक केसीले उनेश चौधरीको स्थानमा गोलकिपर टोपबहादुर रानालाई स्थान दिएका छन् । 

यस्तै, डिफेन्स लाइनमा तीन र मिडफिल्डका दुई खेलाडी परिवर्तन गरी प्रशिक्षक केसीले स्यान्सु भुसाल, राज थोकर, जान ताम्ली, राकेश विश्वकर्मा र सञ्जीव लामालाई समेटेका छन् । 



नेपाली टिम प्रतियोगिताका लागि बिहीबार मात्रै बहराइन पुगेको थियो । यद्यपि, पाएको समयको भरपूर सदुपयोग गरेर राम्रो तयारी गरेकाले नेपाल एसियन कपमा छनोटमा हुनेमा प्रशिक्षक आशावादी छन् । 

शनिबार भुटानविरुद्धको खेलको दुई दिनपछि नेपालले सोमबार कतारसँग खेल्ने छ । यस्तै, बुधबार बहराइनसँग र अर्को आइतबार बंगलादेशसँग खेल्नेछ ।

  • प्रकाशित मिति : भदौ २५, २०७९ शनिबार १७:४३:४३

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया