कर्णाली प्रदेशका अधिकांश नागरिक मनोपरामर्श सेवाको पहुँचमा छैनन् । मानसिक स्वास्थ्यका विषयमा कर्णालीमा चासोसमेत दिएको देखिँदैन ।
सीमित व्यक्ति, संस्था तथा समूहले यसको विषयमा खुलेर कुरा गर्छन् । उपलब्ध सेवाबारे जानकारी तथा पहुँच वृद्धिका लागि उनीहरू क्रियाशील छन् तर प्रदेशभरका नागरिक मनोपरामर्श सेवाको पहुँचमा पुगेको छैन ।
कर्णालीमा आत्महत्याका कारण ज्यान गुमाउनेको तथ्यांक बर्सेनि बढ्दो अवस्थामा देखिन्छ । कर्णाली प्रदेश प्रहरीको त्रिवर्षीय अपराध तथ्यांकअनुसार कर्णालीमा बर्सेनि सैयौँको संख्यामा नागरिकले आत्महत्या गरेका छन् ।
प्रहरीले आर्थिक वर्ष २०७६/०७७ मा दुई सय ३९ वटा आत्महत्यासम्बन्धी घटना दर्ता गरेको छ । यसैगरी २०७७/०७८ मा दुई सय ६७ र २०७८/०७९ मा तीन सय २९ वटा घटना दर्ता भएका छन् । कर्णालीमा बर्सेनि आत्महत्याका घटनामा वृद्धि हुनु चिन्ताको विषय बनेको छ ।
आव २०७६/०७७ मा विषय सेवन गरेर ४२ वटा र भुण्डिएर आत्महत्या गरेको एक सय ९७ वटा घटना प्रहरीले दर्ता गरेको छ । आव २०७७/०७८ मा विष सेवनका ५२ वटा, आगलागीको एक वटा र दुई सय १४ वटा भुण्डिएर आत्महत्या गरेका घटना छन् । त्यस्तै, २०७८/०७९ मा ७० वटा घटना विष सेवन गरेर र दुई सय ५९ वटा भुण्डिएर आत्महत्या गरेको घटना प्रहरीको तथ्यांकमा उल्लेख छ ।
यी तीन आर्थिक वर्षमा प्रहरीले आत्महत्या दुरुत्साहन विषयमा समेत मुद्दा चलाएको छ । २०७६/०७७ मा ११ वटा, २०७७/०७८ मा १५ वटा र २०७८/०७९ मा १७ वटा मुद्दा आत्महत्या दुरुत्साहनका रहेको कर्णाली प्रदेश प्रहरीले जनाएको छ ।
सुर्खेतका युवाले अहिले समुदायस्तरमा मानसिक स्वास्थ्यका विषयमा बहस सुरु गरेका छन् । खासगरी मानसिक स्वास्थ्यका विषयमा नागरिक खुलेर कुरा नगर्ने र समाजमा यस विषयमा गलत बुझाइ व्याप्त रहेको बताउँदै युवाको समूहले मानसिक स्वास्थ्यमा विषयमा समुदायस्तरमा विभिन्न कार्यक्रमको सञ्चालन गर्न थालेको हुन् ।
‘द रेस्पन्सिबल अड्ज’ नामक युवा समूहको नेतृत्व गरिरहेका कपिलनाथ योगीले भने, ‘मानसिक स्वास्थ्य समस्या पागलपन होइन । यो पनि अन्य रोगजस्तै भएको बुझाउन हामीले विभिन्न कार्यक्रमको आयोजना गरिरहेका छौँ ।’
कोभिड–१९ संक्रमण रोकथामका लागि नेपाल सरकारले लागू गरेको लकडाउनका समयमा धेरै नागरिक मानसिक रोगी बनेका थिए । कैयौँको व्यवसाय धरासायी भयो, धेरैले जागिर गुमाए ।
यस्तो परिवेशमा नागरिक मानसिक स्वास्थ्यमा असर परेको महसुस गर्दै कपिलनाथ योगी, थोमस गौतमलगायतको युवाले समूहले सामाजिक सञ्जालमार्फत मानसिक स्वास्थ्यका विषयमा बहस सुरु गरेका थिए ।
बहसमार्फत मनोसामाजिक सहयोग, मानसिक स्वास्थ्य सेवामा सहज पहुँच, सामुदायिक क्रियाकलापमा छलफल, उत्पादनशील र सकारात्मक सामाजिक तथा साँस्कृतिक अभ्यासलगायतका विषयमा छलफल गरिन्थ्यो ।
हालको समयमा यो समूहले १० वटा विद्यालय तथा समुदायस्तरमा मानसिक स्वास्थ्यसम्बन्धीको कार्यक्रम सञ्चालन गरिसकेको छ ।
कर्णाली प्रदेशमा हाल तीन जना मनोचिकित्सक उपलब्ध छन् । वीरेन्द्रनगरस्थित प्रदेश अस्पतालमा दुई जना र जुम्लास्थित कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा एक जना मनोचिकित्सकको व्यवस्था गरिएको छ ।
कर्णालीको न्यून जनसंख्या मात्र मनोपरामर्शको पहुँचमा छन् । प्रदेश अस्पतालमा कार्यरत मनोचिकित्सक डा. सुशील शमदर्शी भन्छन्, ‘समग्रमा हेर्नुपर्दा कर्णालीमा न्यून जनसंख्या मनोपरामर्शको पहुँचमा आएका छन् । मनोसामाजिक समस्या रहेका बिरामीमध्ये २०–२५ प्रतिशत नागरिक मात्र मनोचिकित्सक सामु आइपुग्छन् ।’
खासगरी कर्णालीमा मनोसामाजिक समस्याको मुख्य कारण नै ‘डिप्रेसन’ हो । घरेलु हिंसा, पारिवारिक कलहलगायतका घटनाले नागरिकमा डिप्रेसनको समस्या निम्तिन सक्छ । यसको पहिचान गरेर उपचार गर्न सके धेरै नागरिकको मनोसामाजिक समस्यामा हट्ने डा. शमदर्शी बताउँछन् ।
यसका साथै विद्यालय तहबाटै मनोचिकित्साका विषयमा जानकारी दिइनुपर्ने उनको सुझाव छ । साथै कर्णालीका समुदायस्तरमा रहेका स्वास्थ्य चौकीमा कार्यरत जनशक्तिलाई यस विषयमा तालिम, जनचेतनाको वृद्धि, मनोपरामर्श दाताको परिचालनलगायतका क्रियाकलाप अपनाउनुपर्ने उनको सुझाव छ ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।