समानुपातिकमा २० लाख मत पाउने माधव नेपालको दाबी
फरकधार / २५ भदौ, २०७९

नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले आगामी निर्वाचनमा समानुपातिकमा २० लाख मत पाउने दाबी गरेका छन् । मुस्लिम इत्तेहाद संगठन लुम्बिनी प्रदेशको यहाँ आज आयोजित भेलालाई सम्बोधन गर्दै उनले छोटो समयमा एकीकृत समाजवादीले जनताको मन जित्न सफल भएको बताए । 



गत स्थानीय तहमा १० लाखको हाराहारीमा मत पाएको बताउँदै उनले आगामी निर्वाचनमा दृढताका साथ होमिन आग्रह गरे । उनले देशको विकासका लागि पाँच दलीय गठबन्धन बनेकाले गठबन्धनलाई जिताउन सबै लाग्नुपर्ने बताए । मुस्लिम इत्तेहाद संगठनले देशभरका प्रदेशमा भेला भइरहेकाले मुस्लिम एकजुट भई संगठन बलियो बनाउन उनले आग्रह गरे । 

पार्टीका सबै संगठनलाई मजबुत बनाउने दायित्व सबै नेता कार्यकर्ताको रहेकाले गाउँगाउँमा संगठन बलियो बनाउनुपर्नेमा नेता नेपालले जोड दिए । उनले गरिब र अत्याचारविरुद्ध लड्ने पार्टी एकीकृत समाजवादी रहेकाले आगामी निर्वाचनमा अत्यधिक मत पाउने गरी काम गर्नुपर्ने बताए ।



पूर्वप्रधानमन्त्रीसमेत रहेका नेपालले छोरा र छोरीमा विभेद गर्न नहुने बताए । छोरीलाई पनि शिक्षाको पहुँचमा ल्याउनुपर्ने भन्दै उनले स्थानीय सरकार प्रदेश सरकारले विशेष कदम चाल्नुपर्ने बताए । उनले मधेस प्रदेशले बेटी बचाउ, बेटी पढाऊ अभियान सञ्चालन गरी छोरीलाई शिक्षाको पहुँचमा पुर्‍याउने प्रयास गरेको बताए । मदरसालाई व्यवस्थित गराई सरकारी स्वामित्वमा ल्याउन र हज कमिटी गठनमा आफूले प्रयास गरेको उनले बताए ।



कार्यक्रममा सहरी विकासमन्त्री मेटमणि चौधरीले नेपालको रक्षा गर्न मुस्लिम समुदायको महत्त्वपूर्ण भूमिका रहेको बताए । एकीकरणको समयदेखि हालसम्म मुस्लिम समुदायले देशको रक्षाका लागि गरेको प्रयास प्रशंसनीय रहेको उनको दाबी थियो । 

  • प्रकाशित मिति : भदौ २५, २०७९ शनिबार १८:३७:३६,  

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई news@farakdhar.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, टिकटक, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्


यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया