दार्चुला बाढी अपडेट : २६ घर बगे, १० जना बेपत्ता, ५ जनाको ज्यान गयो

शुक्रबार राति परेको भीषण वर्षाका कारण दार्चुलामा मानविय र भौतिक क्षती भएको छ । हालसम्म पाँचजनाको मृत्यु भएको छ । १० जना बेपत्ता भएका छन् । सदरमुकाम खलंगा क्षेत्रका २६ घर बाढीले बाएको र ३५ घरमा आंशिक क्षति भएको सहायक प्रमुख जिल्ला अधिकारी हेमन्ती साँउदले जानकारी दिइन् । 

सबैभन्दा ठूलो मानवीय क्षति नौगाड गाउँपालिकामा भएको छ । सहायक प्रजिअ साउँदका अनुसार नौगाड गाउँपालिकामा तीनजनाको ज्यान गएको छ । नौगाड गाउँपालिका–२ अन्दाजी ३२ वर्षीया जानकी ठगुन्ना, १५ वर्षीया धनुली ठगुन्ना र ६८ वर्षीय मोहनराम पार्कीको शव फेला परेको साउँदले बताइन् । 

यस्तै, महाकाली नगरपालिका–२ का ७७ वर्षीय नन्दराम बोहरा र वडा नम्बर १ सल्लाकी ४३ वर्षीया मानमती कार्कीको मृत्यु भएको छ ।  
 
पहिरोले सल्लाका आठ घर पुरिएका छन् भने स्थानीय बिरा ठगुन्नाको हातखुट्टा भाँच्चिएर घाइते अवस्थामा उद्धार गरिएको छ । 
 
दार्चुला सदरमुकाम खलंगाको बंगाबगड क्षेत्रमा रहेका २६ घर पूर्ण रुपमा बाढीले बगाएको प्रजिअ साउँदले जानकारी दिइन् । सदरमुकाम क्षेत्रमा रहेका ३५ घरमा आंशिक क्षति भएको उनले बताइन् । 

अहिले पानी पर्न बन्द भएको र नदीको कटान पनि रोकिएको प्रजिअ साउँदले जानकारी दिइन् । बाढीको कारण घरबार बिहिन भएका सयौँ व्यक्तिको उद्धार तथा हराएका व्यक्तिको खोजिकार्य जारी रहेको छ । 

डुङुरीमा लास्कु खोलामा आएको बाढीले एकै घरका चार जना बेपत्ता भएको प्रहरी निरीक्षक मगरले बताए । यस्तै, बंगाबगड क्षेत्रमा आधा दर्जन घर महाकालीले बगाएको छ ।

खलंगास्थित दशरथनगर आधारभूत विद्यालय बाढीले बगाएको छ । दुहुँ र महाकाली जोड्ने लास्कु झोलुंगे पुल र मोटरबेल पुल लास्कु खोलाले बगाएको छ । दार्चुला तिंकर सडक अवरुद्ध भएको छ । 



दार्चुला तिंकर सडकमा पार्किङमा राखिएका चारवटा जिप महाकालीले बगाएको छ । महाकाली नदी नियन्त्रण आयोजनाले निर्माण गरेको पक्की तटबन्धमा क्षति पुर्‍याएको छ ।



  • प्रकाशित मिति : भदौ २५, २०७९ शनिबार १८:४२:७

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया