प्रहरीका पूर्व असई र हवल्दारको संलग्नतामा उपत्यकामा ‘लुटपाट’

नेपाल प्रहरीका पूर्व असई र हवल्दार उपत्यकामा ‘लुटपाट’ मच्चाएको आरोपमा पक्राउ परेका छन् । उपत्यका अपराध अनुसन्धान कार्यालयले पूर्व असई बाल सुन्दर सापकोटा र पूर्व हवल्दार अर्जुन कार्कीलाई लुटपाटमा संलग्न रहेको भन्दै पक्राउ गरेको हो । 

काठमाडौंको नयाँबानेश्वरस्थित कात्यानी चोकमा रहेको एक मोबाइल पसलमा आइतबार भएको लुटपाटपछि यस्तो रहस्य बाहिर आएको हो । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका अनुसार आइतबार राति  ‘लुटपाट’ भएको थियो । उक्त पसलबाट तीन वटा आईफोन मोबाइल लुटिएका थिए । 

घटनाका सम्बन्धमा उजुरी परेपछि प्रहरीले आफ्नै पूर्व अफिसरहरूलाई घटनामा संलग्न भएको भन्दै आइतबार राति पक्राउ गरेको थियो ।  उनीहरूलाई महानगरीय प्रहरी वृत्त नयाँ बानेश्वरमा राखेर थप अनुसन्धान तथा कारबाहीको तयारी भइरहेको छ ।

पीडितका अनुसार घटनामा तीन जना संलग्न रहेका थिए । दुई जनाभित्र आएको र एक जना बाहिर बसेको पीडितले बताएका छन् । 

तेस्रो व्यक्तिका विषयमा खोजी र अनुसन्धान भइरहेको प्रहरी उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रवक्ता कृष्ण कोइरालाले जानकारी दिए । ‘घटनाको बारेमा थप अनुसन्धान भइरहेको छ । पक्राउ परेका व्यक्तिको बारेमा विज्ञप्ति सार्वजनिक गर्ने तयारी गरिरहेका छौँ,’ प्रवक्ता कोइरालाले भने । 

प्रहरी स्रोतका अनुसार खोज तथा खानतलासी गर्ने क्रममा उनीहरूको घर कोटाबाट लुटपाट गरिएका तीन वटै मोबाइल फोनका साथै सुन र सक्कली जस्तै देखिने पेस्तोल र गोली बरामद भएको छ ।



गत बुधबार राति ७:५५ बजे तीन वटा मोटरसाइकलमा सवार पाँच जना पुरुषहरूको अपरिचित समूहले ठमेलस्थित ओरिन्टेल मनि एक्सचेन्जका सञ्चालक प्रकाश श्रेष्ठलाई अपहरण गरी ३० लाख नगद लुटपाट गरेको घटनामा समेत उनीहरूको संलग्नता रहेको आशंका गरिएको छ । 



  • प्रकाशित मिति : भदौ २७, २०७९ साेमबार १४:१३:१

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया