काठमाडौं– भरतपुर महानगरपालिकामा ३ अर्बको लागतमा २५ हजार सिट क्षमताको गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट स्टेडियम बन्ने भएको छ । धुर्मुस–सुन्तली फउन्डेसन र भरतपुर महानगरपालिकाको सहकार्यमा नेपालमै पहिलोपटक आधुनिक सुविधासम्पन्न क्रिकेट स्टेडियम बन्न लागेको हो ।
फाउन्डेसन र महानगरपालिकाबीच स्टेडियम बनाउन सहकार्य गर्ने विषयमा बुधबार सम्झौता भयो । धुर्मुस–सुन्तली फाउन्डेसनका अध्यक्ष सीताराम कट्टेल ‘धुर्मुस’ र भरतपुर महानगरपालिकाकी मेयर रेणु दाहालले सम्झौतापत्रमा हस्ताक्षर गरे ।
त्रिभुवन विश्वविद्यालय, कृषि तथा वन विज्ञान संकायअन्तर्गत रहेको २० बिघा ८ कट्ठा क्षेत्रफलमा स्टेडियम बन्न लागेको हो । गुरुयोजना तयार भएको २ वर्षमा निर्माण सम्पन्न गरी स्टेडियम हस्तान्तरण गर्ने फाउन्डेसनको तयारी छ ।
नेपालले एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटको मान्यता पाएदेखि नै फाउन्डेसनले स्टेडियम बनाउने तयारी थालेको थियो । उपयुक्त जग्गा नभेट्दा निर्माण प्रक्रिया सुरु भने भएको थिएन ।
स्टेडियमको लागि फाउन्डेसनले देश–विदेशका नेपालीबाट स्वैच्छिक सहयोग संकलन गर्ने बताएको छ । यसअघि यस्तै सहयोगबाट चारवटा बस्ती निमार्ण गरिसकेको फउन्डेसनले त्यही अनुभवको बलमा स्टेडियम निर्र्माण गर्ने बताएको छ ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।