प्राविधिक शिक्षाको करोडौँ रकम हिनामिना गरेको भन्दै ११ जनाविरुद्ध मुद्दा

दैलेखको चामुण्डा विन्द्रासैनी नगरपालिका–३ स्थित चामुण्डा माध्यमिक विद्यालयमा तालिम सञ्चालनका लागि प्राप्त रकम हिनामिना गर्ने ११ जना विरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा मुद्दा दायर गरेको छ । 

उनीहरूले विद्यालयमा प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् बाट विभिन्न तालिम सञ्चालनका लागि प्राप्त रकम अनियमितता गरेको अख्तियारको ठहर छ । विद्यालयका प्रधानाध्यापक, सहायक लेखापाल, प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् कर्णालीका तत्कालीन कामु निर्देशक, तालिम दिने निजी कम्पनीका सञ्चालकविरुद्ध अख्तियारले मुद्दा अघि बढाएको हो । 

अख्तियारले प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद्, कर्णाली प्रदेश कार्यालयका तत्कालीन कामु निर्देशक भीमकान्त लामिछाने र मोहनबहादुर कार्की, लेखा अधिकृत शिवराम रोकाय, प्रधानाध्यापक जयप्रसाद तिमिल्सेना, विद्यालय व्यवस्थापन समितिका तत्कालीन अध्यक्ष नन्दबहादुर शाही, सह लेखापाल नरेश शाही, इलाइट इन्फ्रास्ट्रक्चर कन्सल्ट्यान्ट प्रालिका सञ्चालक धुपेन्द्रबहादुर शाहीलाई बिगो माग दाबीसहित विशेष अदालतमा मुद्दा दायर गरेको छ । 

कर्णाली प्रदेश सरकारको सामाजिक विकास मन्त्रालयका तत्कालीन शाखा अधिकृत पदमबहादुर बुढाक्षेत्री, प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् कर्णाली प्रदेश कार्यालयका तत्कालीन सहायक प्रशिक्षक गंगाराम शाही र कर्णाली प्राविधिक शिक्षालयका तत्कालीन प्रशिक्षक हिराबहादुर शाही विरुद्ध पनि मुद्दा दायर भएको छ । 

उनीहरूसँग तीन करोड ४३ लाख ८८ हजार आठ सय १६ रूपैयाँ बिगो दाबी गरी मुद्दा चलाइएको हो । इलाइट इन्फ्रास्ट्रक्चर कन्सल्ट्यान्ट प्रालिका सञ्चालक शाहीलाई भने ७० लाख बिगो दाबी गरिएको छ । उनीहरूले तालिम नै नदिइ मिलेमतोमा सामान पनि खरिद नगरी भ्रष्टाचार गरेको अख्तियारको दाबी छ ।​





  • प्रकाशित मिति : भदौ २७, २०७९ साेमबार १५:२८:१५

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया