चिनियाँ जनकंग्रेसका अध्यक्ष लि चान्सु नेपाल आइपुगे

नेपालको तीन दिने भ्रमणका लागि चिनियाँ राष्ट्रिय जनकंग्रेसका स्थायी समिति अध्यक्ष लि चान्सु नेपाल आइपुगेका छन् । उनी सोमबार दिउँसो ३ बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ओर्लेका हुन् । उनलाई विमानस्थलमा सभामुख अग्निप्रसाद सापकोटाले स्वागत गरेका छन् ।

सापकोटाको निमन्त्रणामा आएका अध्यक्ष लिले नेपालमा रहँदा उच्चस्तरीय राजनीतिक तथा कूटनीतिक भेटघाट गर्नेछन् । सोल्टी होटलमा केही समय आराम गरेपछि उनी नेपाली समकक्षी सापकोटासँग भेटवार्ताका लागि लि संसद् भवन नयाँ बानेश्वर जानेछन् ।

सभामुखले लिको सम्मानमा सोमबार साँझ रात्रि भोजको आयोजना गरेका छन् । तर, राष्ट्रिय सभा सदस्य गणेशप्रसाद तिमिल्सिनाले भने रात्रि भोजमा सरिक नहुने जानकारी गराएका छन् । बेलायती महारानी एलिजावेथ द्वितीयाको निधनमा नेपालले तीन दिन शोक दिवस मनाइ रहेकाले यस्तो बेला आयोजना गरिएको रात्रि भोजमा आफू सरिक नहुने उनले जनाउ दिएको स्रोतले बतायो ।

मंगलबार अध्यक्ष लिले प्रधानमन्त्री शेरबहादुर देउवा र परराष्ट्रमन्त्री डा. नारायण खड्कासँग भेटवार्ता गर्नेछन् । उनले एमाले अध्यक्ष केपी ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग पनि बुधबार बिहान संसद् भवनमा बेग्लाबेग्लै भेटवार्ता गर्ने कार्यक्रम छ ।

बुधबार अपराह्न साढे ३ बजे अध्यक्ष लि राष्ट्रपति विद्यादेवी भण्डारीलाई भेट्न शीतल निवास जाने छन् । सोही दिन उनी दक्षिण कोरियातर्फ लाग्ने भएका छन् । 





  • प्रकाशित मिति : भदौ २७, २०७९ साेमबार १६:३८:८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया