गौतम र राई एनएसजेएफ पत्रकारिता पुरस्कारबाट सम्मानित

एनएसजेएफ खेल पत्रकारिता पुरस्कारबाट पूर्ववरिष्ठ  खेलकुद पत्रकार जयदेव गौतम र सुमन भोम्जन स्मृति युवा खेल पत्रकारिता पुरस्कारबाट गीता राई सम्मानित भएका छन् ।

नेपाल खेलकुद पत्रकार मञ्च (एनएसजेएफ)ले २७औं स्थापना दिवसको अवसरमा सोमबार गौतम र राईलाई पुरस्कृत गरेको हो ।

सातदोबाटोस्थित अन्तर्राष्ट्रिय खेलकुद परिसरमा आयोजित एक कार्यक्रमबीच उनीहरूलाई राष्ट्रिय खेलकुद परिषद् (राखेप)का सदस्यसचिव टंकलाल घिसिङ, नेपाल ओलम्पिक कमिटी (एनओसी)का महासचिव निलेन्द्रराज श्रेष्ठ, नेपाल पत्रकार महासंघका सचिव पवन आचार्य र मञ्चका अध्यक्ष दुर्गानाथ सुवेदीले सम्मानपत्र र दोसल्ला ओढाएर सम्मान गरे ।

खेल पत्रकारिता अवार्डस्वरूप गौतमलाई २५ हजार रुपैयाँ प्रदान गरिएको छ । यस्तै, सुमन भोम्जन युवा खेलकुद पत्रकारिता अवार्डबाट पुरस्कृत राईलाई ल्यापटप प्रदान गरिएको छ ।

पछिल्लो समय अमेरिकामा बस्दै आए पनि गौतमले पत्रकारिता क्षेत्रमा कलम चलाउँदै आएका छन् । राई अनलाइन खेलकुद पोर्टल खेलाडी डटकममा कार्यरत छिन् ।

एनएसजेएफ पत्रकारिता अवार्डबाट सम्मानित जयदेव गौतमले करिब तीन दशकको खेल पत्रकारिता यात्रालाई स्मरण गराएकोमा मञ्चलाई धन्यवाद व्यक्त गर्दै पछिल्लो समय नेपाली खेल पत्रकारिताले फड्को मारेको बताए ।



‘हाम्रो समयमा औंलामा गणना गर्न सकिने खेलपत्रकार थियौं । तर, पछिल्ला समय धेरै पत्रकार नेपाली खेलकुदमा सक्रिय छन् र यसले नेपाली खेलकुद पनि विकास हुँदै गएको बुझ्न सकिन्छ,’उनले भने, ‘खेलका विश्लेषणात्मक र अनुसन्धानात्मक समाचार लेखनमा अग्रसर भइरहन सबै खेल पत्रकारलाई आग्रह गर्न चाहन्छु । यसले नेपाली खेल पत्रकारितालाई अझ सम्मानित स्थानमा पुर्याउनेछ ।’

युवा पत्रकारिताबाट सम्मानित गीताले यो पुरस्कारले आफूमाथि थप जिम्मेवारी थपिएको र साथै प्रोत्साहन पनि मिलेको प्रतिक्रिया दिइन् ।



सदस्यसचिव टंकलाल घिसिङले नेपाली खेलकुदलाई गतिशील बनाउन खेलकुद पत्रकारले उल्लेखनीय योगदान गरेको भन्दै प्रंशसा गरे । साथै उनले नेपाली खेलकुद पत्रकारितामा एनएसजेएफको भूमिका अहम रहेको उल्लेख गर्दै मन्चको २७ औं स्थापना दिवसका अवसरमा सबै खेल पत्रकारलाई शुभकामना व्यक्त गरे ।

मञ्चका अध्यक्ष सुवेदीले पनि स्थापना दिवसका अवसर सबै खेल पत्रकारलाई शुभकामना व्यक्त गरे ।   

अग्रजलाई सम्मान र युवालाई प्रोत्साहन भन्ने नाराका साथ मञ्चले हरेक वर्ष स्थापना दिवसमा यो कार्यक्रम गर्दै आएको छ ।  

नेपाल खेलकुद पत्रकार मञ्चले भदौ २७ गतेलाई स्थापना दिवसका रुपमा मनाउँदै आएको छ । २०५२ सालमा नेपाल खेलकुद पत्रकार मञ्चको विधिवत रुपमा स्थापना भएको थियो ।

  • प्रकाशित मिति : भदौ २७, २०७९ साेमबार १८:४४:४

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया