पेट्रोलियम पाइपलाइनले तीन वर्षमा जोगायो पाँच अर्ब

नेपाल भारत पहिलो अन्तरदेशीय पेट्रोलियम पाइपलाइन सञ्चालनको तीन वर्ष पूरा भएको छ । भारतको मोतीहारीदेखि नेपालको अमलेखगन्जसम्म ६९.२ किलोमिटर लामो पाइपलाइनबाट तीन वर्षमा २८ लाख ९७ हजार ५ सय १९ किलोलिटर डिजेल आयात भएको निगमले जनाएको छ ।

उक्त परिणामको डिजेल आयात गर्दा यसअघि हुने ढुवानी तथा तापक्रम नोक्सानीबापतको झण्डै पाँच अर्ब रुपैयाँ जोगिएको नेपाल आयल निगमले जनाएको छ । पाइपलाइनको उद्घाटन नेपालका तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली र भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले एकसाथ नेपाल र भारतबाट बटम थिचेर गरेका थिए । 

प्रतिघन्टा दुई लाख लिटर डिजेल आयात गर्न सकिने पाइपलाइनको तीन वर्ष सफल भएको र पाइपलाइनबाट इन्धनबाट आउँदा सुरक्षित हुने, चुहावट र अवरोध नहुने हुँदा पाइपलाइन अत्यन्तै सफल भएको नेपाल आयल निगम लिमिटेड मधेस प्रादेशिक कार्यालय अमलेखगन्जका प्रमुख इन्जिनियर प्रदीप यादवले बताए । 

भारतको बरौनीदेखि नेपालको अमलेखगन्जसम्म प्रतिलिटर ट्यांकर ढुवानीमा प्रतिलिटर एक रुपैयाँ ५० पैसा खर्च हुने गरेकोमा पाइपलाइनपछि सो खर्च जोगिएको निगमको केन्द्रीय कार्यालयले जनाएको छ ।

ट्यांकरबाट इन्धन आयात गर्दा बाटोमै चुहावट हुने, सवारी दुर्घटना हुने, सडक अवरोधका कारण नियमित ढुवानीमा कठिनाइ हुने जस्ता समस्या निगमले भोगिरहेको थियो । निगमले अहिले पाइपलाइनबाट डिजलमात्रै ल्याइरहेको छ । पछिल्लो तीन वर्षमा २८ लाख ९२ हजार चार सय २९ किलोलिटर डिजल आयात भएको यादवले जानकारी दिए । पाइपलाइनबाट वार्षिक २५ लाख किलोलिटर इन्धन आयात गर्ने क्षमता छ ।

हाल सञ्चालनमा रहेको ६९.२ किलोमिटरको पाइपलाइनबाट डिजलमात्रै आयात गरिरहेको निगमले पेट्रोल र मट्टितेल ल्याउने तयारी गरिरहेको छ । दुई वर्षभित्र पाइपलाइनबाट डिजलसँगै पेट्रोल र मट्टितेल ल्याउने तयारी गरिरहेको बताउँदै यादवले पाइपलाइनलाई विस्तार गरेर चितवनसम्म लगिने जानकारी दिए ।



अमलेखगन्जस्थित प्रादेशिक कार्यालय नेपालकै सबैभन्दा ठूलो इन्धन भण्डारण क्षमता भएको डिपो हो । २०३३ सालमा निर्माण भएको यो डिपो अहिले ६७ हजार ७ सय २४ वर्गमिटर क्षेत्रफलमा फैलिएको छ । यस डिपोमा १९ हजार ८ सय ४० किलोलिटर डिजेल, तीन हजार चार सय ३० किलोलिटर पेट्रोल, सात सय ६० किलोलिटर मट्टितेल भण्डारण गर्ने क्षमता रहेको छ ।

अमलेखगंज डिपोको क्षमताले देशको २।५ दिनको पेट्रोलियम पदार्थको माग धान्न सक्ने अवस्था छ । देशको २६ जिल्लामा आपूर्ति व्यवस्थापन गर्दै आएको डिपोसँग अहिले चार सय २४ डिलर, दुई सय ६४ ढुवानीकर्ता रहेका छन् ।



अमलेखगंजबाट विराटनगर, जनकपुर, थानकोट, पोखरा, भलवारी डिपोमा स्टक ट्रान्सफर हुँदै आएको छ । यस डिपोले दैनिक औसत ५ हजार किलोलिटर इन्धन स्टक ट्रान्सफर र ६ हजार ५ सय किलोलिटर इन्धनको आपूर्ति तथा वितरण गर्दै आएको छ ।

डिपोको सुरक्षाका लागि २४ लाख लिटरको पानी ट्यांकीसहित फायर फाइटिङको व्यवस्था गरिएको छ । डिपो तथा पाइपलाइन क्षेत्रमा २० वटा फायरमोनिटर, हाइड्रान्टसहित १४ इन्चको फायरलाइन छ । डिपोमा प्रतिघण्टा दुई सय ८८ किलोलिटर डिस्चार्जयुक्त दुईवटा वटा फायरइन्जिन रहेको छ ।

प्रत्येक लोडिङ अनलोडिङ वेमा क्यापासिटेटिभ अर्थिङ तथा विभिन्न क्षमताका सयभन्दा बढी फायर बोतलको व्यवस्था छ । सम्भावित आगलागी नियन्त्रणका लागि डिपोसँग आफ्नै दुई वटा दमकल छ ।

  • प्रकाशित मिति : भदौ २७, २०७९ साेमबार २०:२१:२०

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया