एक खेल पनि खेल्न नपाउँदै समूह चरणबाट बाहिरिएपछि बागमतीको टोली असन्तुष्ट
फाइल तस्बिर

नवौँ राष्ट्रिय खेलकुदअन्तर्गत गत बिहीबारदेखि सुरु पुरुष क्रिकेटका प्रतियोगिताका अधिकांश खेल वर्षाका कारण प्रभावित भएका छन् । प्रतिस्पर्धामा सात प्रदेश, तीन विभाग र गैर आवासीय नेपाली गरी ११ टोलीले भाग लिएका छन् । 

वर्षाका कारण मूलपानी मैदानमा तय भएका कुनै पनि खेल भएका छैनन् भने कीर्तिपुरस्थित त्रिवि मैदानमा अहिलेसम्म चार खेल मात्र पूरै २० ओभर खेल्न सम्भव हुँदा एक खेल ६ ओभरमा खेलाएको छ । दुवै मैदानमा गरी समूह चरणका १५ खेल रद्द भइसकेका छन् ।

आगामी महिना नेपाल क्रिकेट संघ (क्यान) ले नेपाल टी–२० लिग गर्ने भएकाले अहिले नै पुरुष राष्ट्रिय प्रतियोगिता सञ्चालन भएको हो । वर्षायामको ख्याल नगरी हतारमा प्रतियोगिता गर्दा खेलहरू प्रभावित भइरहेका छन् । नवौँका अन्य खेलका प्रतिस्पर्धा भने असोज २८ देखि हुँदैछ ।

वर्षाका कारण समूह चरणका खेल रद्द हुँदा उपाधिको दाबेदार मानिएको बागमती प्रदेश समूह ‘बी’मा एउटै खेल नखेली बाहिरिएको छ ।  समूह ‘बी’ मा एक खेल मात्र हुन बाँकी छ ।  यो समूहमा एनआरएन ४ खेलमा १ मा जित र ३ खेलमा अंक बाँड्दै ५ अंक जोडेर शीर्ष स्थानमा छ । 

उ समूह ‘बी’ बाट सेमिफाइनलमा पुग्ने पहिलो टोली हो । एनआरएनएले सुदूरपश्चिम प्रदेशलाई १२ रनले हराउँदा अन्य सबै टोलीसँग अंक बाँड्यो । बागमती ४ खेलमा अंक बाँड्दै ४ अंकका साथ दोस्रो,  सुदूरपश्चिम ३ खेलमा १ जित, १  हार र १ खेलमा अंक बाँड्दै ३ अंक जोडेर तेस्रो, एपिएफ तीनै खेलमा अंक बाँड्दै चौथो स्थानमा छन् ।  

 आज मुलपानी क्रिकेट मैदानमा एपिएफ र सुदूरपश्चिम भिड्दै छन् । यो खेलको नतिजाले सेमिफाइनल निर्धारण हुनेछ । यो विजेताले ५ अंक जोड्दै सेमिफाइनलमा स्थान पक्का गर्नेछ । तर, अंक बाँडेको खण्डमा भने सुदूरपश्चिम सेमिफाइनलमा पुग्नेछ ।



बागमतीको कीर्तिपुरमा तय भएको प्रदेश १ विरुद्धको पहिलो खेल वर्षा कारण रद्द भएको थियो । कीर्तिपुरमै निर्धारण भएको सुदूरपश्चिम विरुद्धको खेल पनि मैदानमा पानी जम्दा सम्भव भएन । त्यसपछि, मूलपानीमा तय भएका एनआरएनए र एपिएफएफबीचको खेल पनि रद्द भयो । यसरी दाबेदार मानिएको बागमतीले समूह चरणका चार खेलमा एक बल पनि खेल्न पाएन। 

नेपाल क्रिकेट संघ (क्यान) समूह चरणमा रद्द भएका खेल फेरि खेलाउने पक्षमा छैन । यस विषयमा उसले  राष्ट्रिय खेलकुद परिषद्लाई पनि जानकारी दिइसकेको छ । तर, बागमती प्रदेश खेलकुद परिषद्‌का सदस्यसचिव सूर्य भण्डारीले कुनै पनि खेल नखेली बागमती आउट भएपछि असन्तुष्टि व्यक्त गरेका छन् । 



उनले बागमती बाहिरिएको समाचार सामाजिक सञ्जाल फेसबुकमा सेयर गर्दै लेखेका छन्, ‘क्रिकेटको विषयमा केही पुनर्विचार हुन्छ, खेल्दै नखेली आउट हुनु र नतिजा घोषणा गर्नु हुँदैन भन्ने हाम्रो सुझाव छ । आज दिनभरमा नयाँ निर्णय आउँछ । कि त सबै म्याच खेल्न पाउनु पर्छ, कि त गेम नै रि-सेड्युल गरी अर्को मितिमा गर्नुपर्छ ।’ 

  • प्रकाशित मिति : भदौ २८, २०७९ मंगलबार १२:३९:३

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया