महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री उमा रेग्मीले महिलालाई आर्थिक रूपले आत्मनिर्भर बनाउन जरुरी रहेको बताएकी छन् ।
मंगलबार काठमाडौंको बूढानीलकण्ठमा निर्माण गरिएको समाज कल्याण परिषदको व्यावसायिक तालिम केन्द्र भवनको उद्घाटन गर्दै मन्त्री रेग्मीले सो कुरा बताएकी हुन् । त्यस अवसरमा उनले सो भवन महिलालाई आधारभूत तालिम दिई दक्ष बनाउन उपयोग हुने विश्वाससमेत व्यक्त गरिन् ।
मन्त्री रेग्मीले सो भवनलाई उद्देश्यमूलक ढंगले सञ्चालन गर्न समाज कल्याण परिषदका पदाधिकारीलाई निर्देशनसमेत दिइन् ।
उनले भने, ‘महिलालाई आत्मनिर्भर बनाउन जरुरी छ । यो तालिम केन्द्र पनि भाडामा लाग्ने छैन । यसले महिलालाई तालिम दिएर उपलब्धिमूलक बनाउने छ । यसका लागि आवश्यक सहयोग गर्न मन्त्रालय तयार छ ।’
मन्त्री रेग्मीले महिलाको दक्षता अभिवृद्धि गरी उनीहरूलाई उद्यमी बनाउने काममा मन्त्रालयले पनि सो तालिम केन्द्रलाई आवश्यक सहयोग गर्ने आश्वासनसमेत दिइन् ।
कतार च्यारिटीको सहयोगमा निर्माण गरिएको सो भवनमा ४ वटा तालिम कोठा, २ वटा अफिस कोठा, १ वटा सेमिनर हल र ८ वटा शौचालय रहेका छन् ।
त्यस अवसरमा महिलाको सिलाइकटाइ तालिमको पनि शुभारम्भ गरिएको थियो । महिलालाई आयआर्जनको काममा लगाउने उद्देश्यले सो तालिमको शुभारम्भ गरिएको समाज कल्याण परिषदले जनाएको छ ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।