नवौं राष्ट्रिय खेलकुद अन्तर्गत पुरुष क्रिकेटमा विभागीय टोली त्रिभुवन आर्मी क्लबले जित हात पारेको छ । उसले आज सम्पन्न खेलमा लुम्बिनी प्रदेशविरुद्ध ९ विकेटको सहज जित हात पारेको हो ।
८६ रनको लक्ष्य आर्मीले १०.३ ओभरमा एक विकेट गुमाउँदै भेट्टायो । उसका लागि हरि चौहानले सर्वाधिक ३५ रनको योगदान दिए । अविजित रहेका अर्जुन साउदले २८ र भिम सार्कीले १८ रन बनाए । लुम्बिनीका लागि एक मात्र विकेट अनिल खरेलले लिए ।
यसअघि कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस जितेर ब्याटिङ रोजेको लुम्बिनीले निर्धारित १९ ओभरमा ९ विकेट गुमाउँदै ८५ रन बनाएको थियो । खेललाई वर्षाका कारण १९ ओभरमा झारिएको हो ।
उसका लागि कप्तान कृष्ण कार्कीले अविजित २८ रनको योगदान दिए । सन्दीप रजालीले १५, देव खनाल र बसिर अहमदले १३/१३ रन जोडे । आर्मीका लागि सुशन भारीले पाँच, हरि चौहानले दुई तथा सोमपाल कामी र आकाश चन्दले एक/एक विकेट लिए ।
जितसँगै आर्मीले ३ खेलमा चार अंक जोड्दा पराजित लुम्बिनीको समान खेलबाट तीन अंक छ ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।