अन्तर्राष्ट्रिय कानुनका ज्ञाता डा. सुवेदीलाई अक्सफोर्डको सर्वोच्च उपाधि महाविद्यावारिधि प्रदान

विश्वप्रसिद्ध अक्सफोर्ड विश्वविद्यालयले अन्तर्राष्ट्रिय कानुनका ज्ञाता प्राध्यापक डा. सूर्यप्रसाद सुवेदीलाई प्राज्ञिक क्षेत्रको सर्वोच्च उपाधि महाविद्यावारिधि प्रदान गरेको छ ।

अक्सफोर्ड विश्वविद्यालयले अन्तर्राष्ट्रिय कानुन र मानवअधिकारको क्षेत्रमा असाधारण योगदान दिएको भन्दै प्राचीन शेल्दोनिअन थिएटरमा आयोजित दीक्षान्त समारोहबीच सुवेदीलाई सो उपाधि प्रदान गरिएको हो । अक्सफोर्डको यो उपाधि धेरै शताब्दी अघि स्थापना भएको हो ।

अक्सफोर्डको कानुन संकायकी डीन प्राध्यापक आन डेभिसले सुवेदीलाई दीक्षान्त समारोहमा प्रस्तुत गरेकी थिइन् भने अक्सफोर्डकी उपकूलपतिले महाविद्यावारिधिको उपाधि प्रदान गरेकी थिइन् ।

अन्तर्राष्ट्रियस्तरमा १२ वटा ग्रन्थ र ५ दर्जनभन्दा बढी अनुसन्धानात्मक प्राज्ञिक लेख संसारका विशिष्ट जर्नलहरूमा प्रकाशित गरेका सुवेदीले आफ्नो योगदानलाई अक्सफोर्डले सम्मान गरेकोमा गौरवान्वित भएको बताए ।

झन्डै ११४ वर्षपछि उक्त उपाधि पाउने प्रा. सुवेदी पहिलो नेपाली हुन् । प्रा. सुवेदी उक्त विश्वविद्यालयबाट विद्यावारिधि गर्ने पहिलो नेपाली पनि हुन् । सन् १९०८ राणा प्रधानमन्त्री चन्द्र समशेरलाई अक्सफोर्डले मानार्थ महाविद्यावारिधि प्रदान गरेको थियो ।

महाविद्यावारिधि उपाधि प्रदान गर्ने घोषणा गरेको दुई वर्षपछि अक्सफोर्डले प्रा. सुवेदीको नाममा प्रत्येक वर्ष कानुनमा विद्यावारिधिको उत्कृष्ट शोधग्रन्थ प्रस्तुत गर्ने मेधावी विद्यार्थीलाई प्रदान गरिने वार्षिक पुरष्कार पनि स्थापना गरेको थियो ।



दीक्षान्त समारोहपछि प्रा. सुवेदीले अध्ययन गरेको अक्सफोर्डको एकसेटर कलेजका प्राचार्य सर रिक ट्रेनरले सुवेदीको सम्मानमा दिवाभोज आयोजना गरेका थिए ।



  • प्रकाशित मिति : भदौ २८, २०७९ मंगलबार १८:४८:५१

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया