भन्सार विभागका निर्देशक मणिराम पौडेलले उत्तरी सीमानाकाहरू दसैँअगाडि नै खुल्ने बताएका छन् ।
मंगलबार समितिको कार्यालयमा भएको वैदेशिक व्यापारसम्बन्धी अन्तरक्रिया कार्यक्रमा बोल्दै निर्देशक पौडेलले चीन पक्षसँग छलफल गरेर दसैँअगाडि नै नाका खोल्ने तयारी भएको बताएका हुन् ।
उत्तरी नाकामा नेपालको कोभिड-१९ सम्बन्धी स्वास्थ्य मापदण्ड कमजोर भएको भन्दै नाका बन्द गरिएको चीन पक्षले बताउने गरेको उनको भनाइ छ ।
निर्देशक पौडेलले अहिले दुवै पक्षको छलफलमा नेपालतर्फको नाकामा स्वास्थ्य मापदण्ड कडाइ गरे चीन सीमा खुला गर्ने पक्षमा रहेको बताए ।
‘चीन पक्षले परराष्ट्र मन्त्रालय वा वाणिज्य मन्त्रालयको बैठकमा एउटै विषय उठाउने गरेका छन् । तर, अहिले नेपालको स्वास्थ्य मापदण्डलाई हेरेर नाका खुला गर्ने तयारी भएको छ । दसैँअगाडि नाका खुल्छ' उनले भने ।
उनले पछिल्लो समय बैंकहरूमार्फत ५०० सय डलरसम्मको डेभिट कार्ड दिएपछि हुलाकबाट अवैध कारोबार बढेको बताए । उनले एउटै व्यक्तिले ए बी नाममा डिजिटल कारोबार गरेर हुलाकमार्फत व्यापार गर्ने गरेको जानकारी आएको बताए ।
'पछिल्लो समय बैंकहरूमार्फत ५०० सय डलरसम्मको डेविट कार्ड दिएपछि हुलाकमार्फत हुने अवैध कारोबार बढेको छ । एउटै व्यक्तिले ए बी नाममा डिजिटल कारोबार गरेर हुलाकमार्फत व्यापार गरेको देखिएको छ’ उनले भने ।
त्यस्तै, नेपाल हिमालय सीमापार वाणिज्य संघका सचिव रामचन्द्र पराजुलीले सरकारले तत्काल उत्तरी सीमानाकामा रोकिएको सामान ल्याउन पहल गर्न माग गरे । उनले राजश्व परामर्श समितिलाई लिखितरूपमा नै सुझावसहित माग पेस गरेको बताए ।
सचिव पराजुलीले चिनियाँ नाका बन्द हुँदा नेपालीको महान पर्व दसैँका लागि खरिद गरेर ल्याएका सामान नाकामा नै रोकिएको बताए । उनले दसैँमा पनि नाका खुला हुन नसके र सामान आउन नसके व्यापारी पलायन हुने अवस्था आउनसक्ने बताए ।
उनले नेपाली व्यवसायीले अर्बौं रुपैयाँमा खरिद गरेर ल्याएका सामान उत्तरी नाका लासा, सिगासे, केरुङ र खासालगायतका नाकामा सामान रोकिएका बताए । उनले सरकारले व्यवसायीलाई सहजरूपमा व्यापार गर्ने वातावरण बनाउनुपर्ने बताए ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।