नेपाल आयल निगमले नेपाल पेट्रोलियम ढुवानी व्यवसायी महासंघलाई पत्राचार गर्दै आन्दोलन फिर्ता लिन आग्रह गरेको छ । निगमले आन्दोलनका कार्यक्रम फिर्ता लिई ढुवानी सुचारु गर्न व्यवसायीलाई आग्रह गरेको हो ।
निगमले पेट्रोलियम पदार्थको आपूर्ति व्यवस्थालाई पूर्ण रुपले ठप्प पार्ने गरी सार्वजनिक गरिएको अवरोधका कार्यक्रमहरु प्रति गम्भिर ध्यानाकर्षण भएको जनाएको छ । दशैँको मुखमा आन्दोलन नगर्न र विद्यमान कानुनी व्यवस्था समेतलाई ख्याल गर्न निगमले स्मरण गराएको छ ।
भदौ २३ को पत्रमार्फत आन्दोलनका कार्यक्रमहरू फिर्ता लिन अनुरोध गरिए पनि भदौ २४ गतेबाट व्यवसायीहरूले पेट्रोलियम पदार्थ आयात गर्न पिडिओ नलिएको निगमको भनाइ छ । जसका कारण पेट्रोलियम पदार्थको आपूर्तिमा अवरोध भई हवाई यात्रु लगायत अन्य सर्वसाधारणमा संत्रास पैदा भएको निगमले जनाएको छ ।
व्यवसायीको माग पुरा हुने प्रक्रियामा रहेको सन्दर्भमा २९ गतेदेखि अमलेखगन्ज डिपोबाट पेट्रोलियम पदार्थ लोडिङ नगर्ने र असोज १ बाट सबै डिपोहरूको आपूर्ति व्यवस्थालाई ठप्प पार्ने कार्यले समग्र सरकार, निगम र पेट्रोलियम व्यवसायमाथि अविश्वास पैदा हुने भएकाले आन्दोलनका कार्यक्रम तत्काल फिर्ता लिन निगमले आग्रह गरेको छ ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।