नेपाल यू-२० एसियन कपमा छनोट हुने सम्भावना न्यून छ : प्रशिक्षक केसी

नेपाल यू-२० पुरुष राष्ट्रिय टोलीका प्रशिक्षक मेघराज केसीले एएएफसी एसियन कप छनोट हुने सम्भावना न्यून रहेको बताएका छन् । प्रतियोगिताको तेस्रो खेलमा नेपालले आज बहराइनको सामना गर्दै छ ।  

‘छनोट हुने सम्भावना न्यून छ । किनभने, हामीले दुई खेल हारिसकेका छौँ त्यसैले समूह विजेता र उत्कृष्ट उपविजेता दुवै बन्न हामीलाई गाह्रो छ,’ केसीले भने । 

पहिलो खेलमा नेपाल भुटानसँग २-१ ले पराजित हुँदा दोस्रो खेलमा कतारसँग ३-१ ले हारेको थियो । दुई खेल खेलेका बंगलादेश ४ अंकसहित शीर्षस्थानमा छ । एक खेल खेलेको कतार र दुई खेल खेलेको भुटानको समान तीन अंक छ । यस्तै, बहराइनको १ अंक रहँदा बिना अंक नेपाल पुछारमा छ । 

बहराइनविरुद्ध उत्कृष्ट खेल हेर्न पाउनेमा केसी आशावादी देखिए । यस्तै, केसीले अघिल्ला खेलपछि टिम पूर्ण तयारी नभएको बताए । ‘आज नेपाली टिमको शतप्रतिशत खेल हेर्न पाइन्छ । पहिलो खेलमा शारीरिक रूपमा पूर्ण तयार थिएनौँ । कतारको स्तर धेरै माथिको थियो । त्यसैले आजको खेलमा उत्कृष्ट प्रदर्शन गर्ने लक्ष्य छ,’ केसीले भने । 

आयुष घलानको कप्तानीमा रहेको नेपाली टिम विगत सात दिनयता बहराइनमा छ । प्रतियोगिताको अघिल्लो दिन मात्रै बहराइन पुगेको थियो । प्रशिक्षक केसीले बहराइनको वातावरणमा घुलमिल भएको र राम्रो प्रदर्शन गर्ने लक्ष्य राखेको बताए । 

‘हाम्रा खेलाडी यहाँको समय र वातावरणसँग घुलमिल भइसकेका छन् । त्यसैले राम्रो प्रदर्शन गर्ने हाम्रो लक्ष्य हो ।  एसियन कपमा छनोट हुनेभन्दा पनि राम्रो प्रदर्शन गर्ने लक्ष्य राख्छौँ,’ उनले भने ।





  • प्रकाशित मिति : भदौ २९, २०७९ बुधबार १३:४१:२०

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया