गृहमन्त्रीको जवाफ : कारागार व्यवस्थापनका लागि बजेट अभाव छ
फाइल फाेटाे

गृहमन्त्री बालकृष्ण खाणले कारागार व्यवस्थापनका लागि बजेट अभाव रहेको बताएका छन् । 

बुधबार प्रतिनिधिसभा बैठकमा कारागार विधेयक २०७८ माथि राष्ट्रियसभाबाट भएको संशोधनमाथिको छलफलको क्रममा सांसदले उठाएका जिज्ञासाको जवाफ दिँदै गृहमन्त्री खाणले यस्तो बताएका हुन् । 

उनले कारागार व्यवस्थापनका लागि पर्याप्त बजेटको व्यवस्था गर्न संसदको पनि गम्भीर ध्यानाकर्षण गराए । कारागारमा बन्दीको संख्या पनि ठूलो रहेको र त्यसको भौतिक पूर्वाधार व्यवस्थापनको काम पनि चुनौतीपूर्ण रहेको उनको भनाइ छ । 

मन्त्री खाणले त्यसको उचित व्यवस्थापनका लागि सरकार र संसद दुवैले पहल गर्नुपर्ने आवश्यकता पनि औँल्याए । उनले सरकारले ल्याएको सो विधेयकले कारागार व्यवस्थापन र सुधारमा महत्त्वपूर्ण भूमिका निर्वाह गर्ने विश्वाससमेत व्यक्त गरे । 

मन्त्री खाणले भने, ‘मूलतः कारागार विधेयकबाट कारागारलाई सुधार गृहमा रूपान्तरण गर्ने महत्त्वपूर्ण कार्यको थालनी गर्ने कोशिश गरिएको छ । यो क्रममा राष्ट्रियसभाले पनि यो विधेयकले कारागार सुधारमा, कारागार व्यवस्थापनमा महत्त्वपूर्ण भूमिका निर्वाह गर्नेछ भन्ने विश्वास व्यक्त गर्दै आफ्नो धारणा अन्त्य गर्छ ।’

गृहमन्त्री खाणले कारागारलाई सुधार गृहका रूपमा रूपान्तरण गर्ने कोशिशलाई सार्थक बनाउने गरी सो विधेयकले कैद मिनाहाको प्रावधानलाई पनि अझै खुकुलो बनाएको बताए । विधेयकमा कारागारमा रहेका बन्दीको सिप र क्षमतालाई मुलुकको उत्पादनसँग जोड्ने मनसाय पनि रहेको उनको भनाइ थियो । 





  • प्रकाशित मिति : भदौ २९, २०७९ बुधबार १५:२०:२

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया