नवौं राष्ट्रिय खेलकुदअन्तर्गत पुरुष क्रिकेटमा विभागीय टोली त्रिभुवन आर्मी क्लबले जित हात पारेको छ । उसले आज सम्पन्न समूह चरणको अन्तिम खेलमा अर्को विभागीय टोली नेपाल पुलिस क्लब विरुद्ध १३ रनको जित हात पारेको हो ।
यो जितसँगै आर्मी समूह ‘ए’को विजेता बन्दै सोमिफाइनल प्रवेश गर्दा पराजित पुलिसले पनि उपविजेताका रुपमा अन्तिम चारमा स्थान बनायो ।
जितको लागि १७८ रनको लक्ष्य पछ्याएको पुलिसले निर्धारित १९ ओभरमा ८ विकेट गुमाउँदै १६४ रन बनायो । वर्षाका कारण खेललाई १९ ओभरमा झारिएको थियो ।
पुलिसका लागि आरिफ शेख २४ बलमा १ चौका र ३ छक्कासहित सर्वाधिक ४० रनको योगदान दिए । सुनिल धमलाले २७, दिलीप नाथले २३ कप्तान दीपेन्द्रसिंह ऐरीले २१, योगेन्द्रसिंह कार्कीले १४ र पवन सर्राफले १३ रन जोडे ।
आर्मीका लागि साहब आलम र सोमपाल कामीले दुई्र÷ दुई तथा जितेन्द्र मुखिया र सुशन भारीले एक/एक विकेट हात पार्दा दुई विकेट रन आउटका रुपमा प्राप्त भयो ।
त्यसअघि कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस जितेर ब्याटिङ रोजेको आर्मीले निर्धारित १९ ओभरमा ५ विकेट गुमाउँदै १७७ रन बनाएको थियो । उसका लागि कप्तान विनोद भण्डारी र अर्जुन साउदले अर्धशतकीय पारी खेले ।
आक्रमक ब्याटिङ गरेका भण्डारीले २९ बलमा सात छक्का र दुई चौकासहित अविजित ६६ रन बनाए । ५३ रन जोडेका साउदले ३४ बलमा सात चौका र दुई छक्का प्रहार गरे । भिम सार्कीले १५ तथा रोहितकुमार पौडेल र सोमपाल कामीले १४/१४ रन जोडे ।
पुलिसका लागि करण केसीले दुई तथा गुल्सन झा र ललितनारायण राजवंशीले एक/एक विकेट लिँदा एक विकेट रन आउटका रुपमा प्राप्त भयो ।
आर्मी ५ खेलमा तीन जित र २ खेलमा अंक बाँड्दै ८ जोडेर साथ शीर्ष स्थानमा रहँदा पुलिस समान खेलमा दुई जित, एक हार र दुई मा अंक बाँड्दै ६ अंकका साथ नेटरनरेटमा दोस्रो स्थानमा रह्यो । उसले समान अंक भए पनि कर्णाली प्रदेशलाई नेटरनरेटमा पछि पारेको हो ।
बिहीबार पहिलो सेमिफाइनलमा समूह ‘ए’ को विजेता आर्मी र समूह ‘बी’ को उपविजेता सुदूरपश्चिमबीच प्रतिस्पर्धा हुनेछ । दोस्रो सेमिफाइनलमा समूह ‘ए’ को उपविजेता पुलिस र समूह ‘बी’ को विजेता एनआरएनए भिड्नेछन् । फाइनल शुक्रबार हुनेछ । यदि वर्षाको कारण खेल हुन नसके समूह विजेता टोली फाइनलमा पुग्नेछन् ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई news@farakdhar.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, टिकटक, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।