आगामी निर्वाचनमा माओवादी पहिलो कम्युनिस्ट पार्टी बन्छ : अध्यक्ष प्रचण्ड
देश चलाउन जनताले माओवादीलाई नै रोजेको प्रचण्डको दाबी

नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले माओवादी केन्द्र आगामी प्रदेश र प्रतिनिधि सभाको निर्वाचनमा पहिलो कम्युनिस्ट पार्टी बन्ने दाबी गरेका छन् । बिहीबार पार्टी कार्यालयमा आयोजित पोष्टबहादुर बोगटीको स्मृति दिवसलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । 

‘स्थानीय तहको निर्वाचन आले सकेका छौँ । अब त्यसबाट र पार्टीका अनुभवबाट शिक्षा लिएर आगामी प्रदेश र प्रतिनिधि सभा सदस्यको निर्वाचनमा सकेसम्म सन्तुलित स्पष्ट, पारदर्शी र एकताबद्ध ढङ्गले यो ब्याटल जित्न हामीले अनुशासित ढङ्गले पहल गर्न जरुरी छ,’ प्रचण्डले भने, ‘स्थानीय निर्वाचनको सन्दर्भबाट गठबन्धनभित्रको सन्दर्भमा पनि शिक्षा लिने कुरा र पार्टी भित्रको सन्दर्भमा पनि शिक्षा लिएर यो ब्याटलमा हामीले आफूलाई फौजको रूपमा अघि बढाउने भनेर पार्टीका बैठकमा प्रयास गरिरहेका छौँ ।’ 

अध्यक्ष प्रचण्डले नेकपा माओवादीलाई नै जनताले देशको चाबी सुम्पिन चाहेको बताए  । अध्यक्ष दाहालले स्थानीय तहको निर्वाचनबाट देशवासीले देशको राजनीतिक कता लैजाने भन्ने कुराको निर्णय गर्न माओवादीलाई रोजेको स्पष्ट भएको बताए । 

‘माओवादी पार्टी कमजोर भए र माओवादी र जनताको सम्बन्ध सुदृढ, सुमधुर हुन सकेन भने कुनै पनि बेला सङ्घर्ष र बलिदानबाट प्राप्त भएको उपलब्धि उल्ट्याउने षड्यन्त्र हुनसक्छ । मैले के देख्छु भने यो पार्टी फेरि एक पटक राम्रो रिभाइभ हुने पुरै सम्भावना छ,’ उनले भने, ‘माओवादी पार्टी जनतामा अहिले स्थानीय तहको निर्वाचनबाट एउटा सन्देश के हो भने जनता अहिले पनि माओवादी पार्टीको हातमा नै देशको चाबी दिन चाहन्छन्, देशको राजनीति कता लैजाने भन्ने कुराको फैसला माओवादीले गरोस् भन्ने चाहना छ जनताको भन्ने कुरा प्रस्ट देखिएको छ ।’ 

उनले माओवादी नेता, कार्यकर्ताहरूले जनताको बीचमा जानुपर्ने कुरा लगायतका जनमुखी काम गर्न मिहिनेत नगरेको पनि बताए । उनले भने, ‘हामी माओवादी नेता, कार्यकर्ताहरू यो बीचमा जति मेहनत गर्नुपर्ने, जति एकताबद्ध हुनुपर्ने हो, जति जनताको बीचमा जानुपर्ने, त्यहाँ कमी छन् भन्ने कुरा हामीले अनुभव गर्दै आएका छौँ । यो आत्मसाथ गर्न आग्रह गर्छु । जनता हाम्रो साथमा छन् । स्थानीय तहको निर्वाचनमा पार्टी भित्रको व्यवस्थापनलाई राम्रोसँग व्यवस्थापन गर्न सकेको भए देशको १ नम्बर कम्युनिस्ट पार्टी बन्ने वस्तुगत आधार क्लियर देखिन्छ ।’ 

प्रचण्डले पार्टी भित्रको व्यवस्थापनलाई राम्रोसँग मिलाउन सके आगामी निर्वाचनमा (माओवादी केन्द्र) नै पहिलो कम्युनिस्ट पार्टी बन्ने बताए । कार्यक्रममा प्रचण्डले भने, ‘पार्टीले विधिगत उम्मेदवार खडा गरेपछि त्यो व्यक्ति रहँदैन, पार्टीले जित्ने वा हार्ने मुख्य कुरा हुन्छ । यो सानो कुरा सबैले बुझे माओवादी पार्टी प्रदेश र संघको निर्वाचनमा देशको पहिलो कम्युनिस्ट पार्टी बन्छ ।’



उनले स्थानीय तहका निर्वाचनबाट र पार्टीका अनुभवबाट शिक्षा लिएर आगामी प्रदेश र प्रतिनिधि सभा सदस्यको निर्वाचनमा सन्तुलित, स्पष्ट, पारदर्शी र एकताबद्ध ढङ्गले पार्टी अघि बढ्ने बताए । अध्यक्ष प्रचण्डले नेकपा (माओवादी केन्द्र) लाई वैचारिक ढङ्गले परिमार्जन गर्न आवश्यक रहेको बताए ।  



  • प्रकाशित मिति : भदौ ३०, २०७९ बिहीबार ११:२८:४४

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया