'प्रचण्ड रहेसम्म देशले सुख पाउने भएन भन्ने पनि मान्छे छन्'
फाइल फाेटाे

नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहालले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले भ्रष्टाचार गर्दिनँ र गर्न पनि दिन्नँ भन्ने साइनबोर्ड राखेर भ्रष्टाचार मात्रै गरेको आरोप लगाएका छन् ।

बिहीबार काठमाडौंमा आयोजित नेपाल उद्योग व्यापार महासंघको प्रथम केन्द्रीय महाधिवेशनलाई सम्बोधन गर्दै उनले यस्तो आरोप लगाएका हुन् । उनले तत्कालीन नेकपा सरकारमा प्रधानमन्त्री रहँदा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले भ्रष्टाचार गर्दिनँ र गर्न पनि दिन्नँ भन्ने साइनबोर्ड राखेर भ्रष्टाचार मात्रै गरेको आरोप लगाए । 

उनले भ्रष्टाचार बढ्नुमा कुनै एक व्यक्तिको मात्रै दोष हो वा अहिलेको शासन प्रणालीमा कतै खोट छ ? भन्नेबारेमा विचार गर्न आवश्यक रहेको बताए । उनले भ्रष्टाचारीलाई कारबाही गरी भ्रष्टाचार गर्नेलाई स्थान नदिने शासन प्रणालीको विकास हुन जरुरी रहेको पनि बताए । 

अध्यक्ष दाहालले निर्वाचन प्रणाली र शासन प्रणालीमा सुधारेर अहिलेको विकृति, विसंगतिलाई सुधार्न सकिने बताए । उनले प्रचण्ड अस्थिरताको कारक हो भन्ने मानिसको कमी नरहेको र प्रचण्ड रहेसम्म देशले सुख नपाउने भन्ने कुरा पनि केही मानिसहरूले गर्ने गरेको बताए । उनले माओवादी रहँदासम्म, बुर्जुवा, दलाल, नोकरशाह र भ्रष्टहरूलाई चैनमा बस्न नदिने जिकिर गरे । 

'प्रचण्ड भनेपछि सब अस्थिरताको कारक यही हो, यो रहेसम्म देशले सुख पाउने भएन भन्ने पनि मान्छे छन् । माओवादी रहँदासम्म, बुर्जुवा, दलाल, नोकरशाह र भ्रष्टहरुलाई चैनमा बस्न दिइँदैन, यो कुरा पक्का हो’ उनले भने ।

अध्यक्ष दाहालले राजनीतिक दल र उद्योगीमा सामाजिक न्याय र आर्थिक विकासको नयाँ गति प्रदान गर्ने जिम्मेवारी रहेको बताए । उनले देश गम्भीर आर्थिक संकटमा रहेको कुरा देश हरेक कुरामा परनिर्भर रहनुले पुष्टि हुने बताए । 



उनले आयात प्रतिस्थापन र निर्यात प्रवर्द्धन गर्ने काममा आर्थिक क्षेत्रअघि बढ्नुपर्छ भन्ने गरिए पनि अहिलेसम्म उल्लेख्य प्रगति हुन नसकेको गुनासो गरे । अध्यक्ष दाहालले देश आत्मनिर्भरता र सवलताको दृष्टिकोणले झनै कमजोर बनिरहेको उल्लेख गरे । उनले नेपालको अर्थतन्त्रलाई उकासेर अघि बढ्न जरुरी रहेको पनि बताए । उनले नेपालको राजनीतिमा समस्या रहेको उल्लेख गर्दै राजनीतिलाई सही बाटोमा ल्याएर देश विकासमा लाग्नुपर्ने बताए ।



  • प्रकाशित मिति : भदौ ३०, २०७९ बिहीबार १५:१४:४५

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया