'नक्साबाटै गायब टुकुचा खोज्‍न लक्ष्मी बैंकदेखि चिनियाँ दूतावाससम्म डोजर चल्न सक्छ'

काठमाडौं महानगरपालिकाले टुकुचा खोला अतिक्रमणमुक्त गरेर त्यहाँ दायाँबायाँ सडक करिडोर बनाउने तयारी गरेको छ ।

महानगरले बिहीबार जय नेपाल हलको आँगन उत्खनन् गरेको थियो । त्यहाँ टुकुचा खोला फेला परेको छ । टुकुचा खोला पुरेर त्यहाँ भवन लगायतका संरचना बनाइएको थियो । इँटाको पर्खालमा सुरुङ बनाएर टुकुचालाई बगाइएको छ । 

महानगरकी उपमेयर सुनिता डंगोलले टुकुचा खोला अतिक्रमणमुक्त बनाउन सहयोग गरेकोमा धन्यवादसमेत दिएकी छन् । उनी आज अपराह्न जय नेपाल हल परिसर पुगेकी थिइन् ।

महानगरका मेयर बालेन शाहका स्वकीय सचिव भूपदेव शाहले टुकुचा खोला अतिक्रमणमुक्त गरेर त्यहाँ करिडोर बनाउने बताए ।

त्यस विषयमा महानगरले १२ साउनमा सूचना जारी गरेर टुकुचाको अतिक्रमण हटाउन निर्देशन दिएको थियो । ३५ दिने सूचनाको म्याद सकिएपछि महानगरले गायब भएको र अतिक्रमण भएको क्षेत्रमा उत्खनन तथा खोजी कार्य सुरु गरेको छ ।

काठमाडौंको बाँसबारी–चन्डोलबाट नारायणहिटी–कमलादी हुँदै बागमतीतर्फ बग्ने टुकुचा खोलाको करिब पाँच सय मिटर खण्ड नक्साबाटै गायब छ । खोलामाथि ६ तलाभन्दा अग्ला भवन बनेका छन । सबै व्यापारिक प्रयोजनमा प्रयोग भएका छन । यहाँ व्यापारिक भवनदेखि बैंक, रेष्टुरेन्टलगायतका संरचना बनाइएको छन् ।



कुनै बेला इच्छुमतिको नामले चिनिने टुकुचा बूढानीलकण्ठबाट सुरु भएर बालुवाटार, हात्तीसार, प्रदर्शनी मार्ग हुँदै थापाथली नजिक बागमतीमा गएर मिसिएको छ । टुकुचा कुनै समय ठूलै खोला थियो । 

तर, अहिले खोला गायब छ । काठमाण्डौं प्लाजादेखि जय नेपाल हलसम्मको करिब पाँच सय मिटर टुकुचा खोला नापीनक्सामै छैन। यो क्षेत्रमा खोला बग्ने ठाउँ ६० भन्दा धेरै कित्तामा विभाजन गरी व्यक्तिका नाममा दर्ता गरिएको छ ।



हात्तीसार क्षेत्रमा त टुकुचा खोलामाथि व्यापारिक भवन बनेका छन् । त्यहाँ लक्ष्मी बैंकले आफ्नो केन्द्रीय कार्यालय नै सञ्चालन गरेको छ । नक्साबाटै टुकुचा नदी गायब पारिएकाले क-कसले अतिक्रमण गरेका छन् भन्नेबारेमा पत्ता लगाउनै मुस्किल भएको स्वकीय सचिव शाह बताउँछन् । 

‘त्यो क्षेत्रमा जय नेपाल फिल्म हल, लक्ष्मी बैंक, हिमालयन एभरेस्ट इन्स्योरेन्स, सिद्धार्थ बैंक, चिनियाँ राजदूतावासलगायत केही रेस्टुरेन्ट सञ्चालनमा छन् । टुकुचा क-कसले मिचेका छन् भन्नेबारेमा यत्तिकै पत्ता लगाउन सकिएन । अब डोजरले उत्खनन् गर्दै टुकुचा खोज्ने योजना छ,’ शाहले भने ।

  • प्रकाशित मिति : भदौ ३०, २०७९ बिहीबार १९:२५:५६

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया