रवीन्द्र मिश्र राप्रपा प्रवेश चर्चाले तरंग, सिनियर नेताहरू असन्तुष्ट
फरकधार / ३१ भदौ, २०७९

विवेकशील साझा पार्टीको अध्यक्ष छाडेर बसेका रवीन्द्र मिश्र राप्रपा प्रवेश गर्ने हल्लाले सो पार्टीमा तरंग सिर्जना भएको छ । अध्यक्ष राजेन्द्र लिङ्देनसहितका पदाधिकारी मिश्रलाई दोस्रो वरियता दिएर पार्टी प्रवेश गराउन चाहन्छन् । उनको यो तयारीपछि बुद्धिमान तामाङसहितका प्रभावशाली नेताहरू सन्तुष्ट भएको बुझिएको छ ।



स्रोतका अनुसार मिश्रलाई दोस्रो वरीयता दिँदा पार्टीका संस्थापक नेताहरू पशुपतिशमशेर जबरा, डा. प्रकाशचन्द्र लोहनीको व्यवस्थापन गर्न लिङ्देनलाई निकै सकस छ । मिश्रले प्रदेश र प्रतिनिधिसभाको निर्वाचनको उम्मेदवार मनोनयनअघि नै राप्रपा प्रवेश गर्ने चाहना राखेका छन् । त्यसका लागि उनले पटकपटक राप्रपा अध्यक्ष लिङ्देनसहितका नेताहरूसँग छलफल गरिसकेका छन् । 

स्रोतका अनुसार मिश्रले विवेकशील साझा पार्टीका सातमध्ये ६ प्रदेश अध्यक्षसहित राप्रपा प्रवेश गराउने प्रतिबद्धता जनाएका छन् । विवेकशील साझाका निवर्तमान अध्यक्षसमेत भएकाले लिङ्देन मिश्रलाई दोस्रो वरीयता दिन तयार देखिएका छन् । 



राप्रपामा अहिले लिङ्देन अध्यक्ष छन् भने राणा र लोहनी वरिष्ठ नेता छन् । अब मिश्र आउँदा राणा र लोहनी पछि पर्नेछन् । सोही कारण तामाङसहितका नेताहरूले असन्तुष्टि जनाएको एक नेताले जानकारी दिए ।



मिश्रको एक मात्र चाहना काठमाडौं–१ मा राप्रपाबाट चुनाव लड्ने र कांग्रेसका प्रकाशमान सिंहसँग प्रतिस्पर्धा गर्ने छ । उनी अघिल्लो हारको बदला लिन चाहन्छन् । सोही कारण एक साताभित्रै मिश्र राप्रपा प्रवेश गर्ने कि नगर्ने भन्ने विषय टुंगो लाग्ने नेताहरू बताउँछन् । 

  • प्रकाशित मिति : भदौ ३१, २०७९ शुक्रबार १३:५२:३९,  

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई news@farakdhar.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, टिकटक, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्


यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया